काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ।
फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल लिमिटेड नियुक्त गरेको छ।
आईपीओ निष्कासन तथा बिक्री व्यवस्थापनसम्बन्धी कार्यका लागि हिमाली हाइड्रो फण्डका तर्फबाट प्रबन्ध सञ्चालक सोमनाथ कँडेल र सानिमा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) विकास खनालबीच सम्झौतामा हस्ताक्षर भएको हो।
सम्झौताअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १४ लाख कित्ता साधारण सेयर अर्थात् कुल १४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने प्रक्रिया अघि बढाउनेछ।
उक्त सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिक, आयोजनामा कार्यरत कर्मचारी तथा सर्वसाधारणका लागि निष्कासन गरिने व्यवस्था गरिएको छ।
सानिमा क्यापिटलले धितोपत्रसम्बन्धी प्रचलित कानुन तथा नियामकीय व्यवस्था अनुरूप विवरणपत्र तयारी, नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गर्ने प्रक्रिया, सेयर निष्कासन, बाँडफाँट तथा बिक्री व्यवस्थापनसम्बन्धी कार्य गर्नेछ।


