काठमाडौँः डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपालको २१औँ वार्षिक साधारण सभाले आगामी दुई वर्षे कार्यकालका लागि कामना सेवा विकास बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित गरेको छ।
शुक्रबार सम्पन्न साधारण सभाले थकालीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति समेत निर्विरोध चयन गरेको हो।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत माधवप्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिपेश लम्साल चयन भएका छन्।
त्यस्तै, सदस्यहरूमा मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रबिन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत अनन्तकुमार चापागाईं चयन भएका छन्।
अनुभवी चार्टर्ड एकाउन्टेन्ट तथा बैंकर थकालीले बैंकिङ क्षेत्रमा वित्तीय कार्यसम्पादन, संस्थागत सुधार, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन तथा सुशासनका क्षेत्रमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्।
पदभार ग्रहणपछि नवनिर्वाचित अध्यक्ष थकालीले एशोसिएसनले अघि बढाउँदै आएका पहल तथा कार्यक्रमलाई निरन्तरता दिँदै विकास बैंकिङ क्षेत्रका समसामयिक मुद्दाहरूलाई प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले सुशासन, जोखिम व्यवस्थापन, प्रविधि तथा मानव संसाधनको क्षमता अभिवृद्धि, डिजिटल रूपान्तरण, कर्जाको गुणस्तर सुधार, कर्जा असुली तथा सदस्य बैंकहरूबीच ज्ञान र उत्कृष्ट अभ्यासको आदानप्रदानलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
नवनिर्वाचित अध्यक्ष थकालीले सदस्य बैंकहरू, नियामक निकाय तथा अन्य सरोकारवालासँगको सहकार्यलाई थप प्रभावकारी बनाउँदै विकास बैंकहरूको संस्थागत तथा समग्र बैंकिङ क्षेत्रको विकासमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


