काठमाडौँ- नेपाल प्रहरीको खोजीमा रहेका जनता समाजवादी पार्टीका नेता अशोक यादवले मधेश नेपालबाट अलग भएरै छाड्ने विवादित अभिव्यक्ति दिएका छन्।
हिन्दी भाषामा भिडिओ सार्वजनिक गर्दै उनल यस्तो विवादित अभिव्यक्ति दिएका हुन्।
यादवले आफूमाथि नेपालमा दमन भएको भन्दै भारतको बिहार राज्य सरकारसँग सहयोगको याचनासमेत गरेका छन्।
नेपालमा मधेशीमाथि दमन र शोषण भइरहेको आरोप लगाएका उनले ‘नश्लवादी, खसवादीहरूले’ मधेशीलाई दोस्रो दर्जाको नागरिक बनाएको दाबी गरेका छन्।
‘यो देशबाट मधेश अलग हुनुपर्छ। मधेश आज नभए भोलि अलग हुन्छ,’ उनको अभिव्यक्ति छ।
आफूले राजनीतिक आन्दोलन गरिररहेको जिकिर गरेका यादवले भारतले समर्थन गर्नुपर्ने उल्लेख गरेका छन्। ‘म बिहार सरकारलाई आग्रह गर्छु कि यो राजनीतिक मामला हो। हामी आन्दोलनको लडाइँ अहिले पनि लडिरहेका छौँ। यसमा भारतको सपोर्ट मिल्नुपर्छ,’ उनको भनाइ छ।
यादव नेपाल प्रहरीको खोजीसूचीमा छन्। आफूलाई नेपालको प्रहरीले पक्राउ गर्ने ठानेर यादवले आफूलाई पक्राउ गर्ने विषयमा नेपाल प्रहरीलाई कुनै पनि नगर्न भारतीय प्रशासनलाई उनको आग्रह छ।
आफू ‘मधेश जनविद्रोह’मा सामेल भएको दाबी गरेका उनले भारतले नेपालका आन्दोलनकारीलाई शरण दिँदै आएको र आन्दोलनकारी अपराधी वा हत्यारा नहुने तर्क गरेका छन्।
यादवले सर्लाही प्रहरीका एसपी र डीएसपीमाथि ‘गुण्डागर्दी’ गरेको आरोप लगाएका छन्। राति कार्यालय खोलेर कमिसन उठाएको आरोप यादवमाथि छ। यही प्रकरणमा सर्लाहीका एसपीसँग कुरा गर्दा उल्टै आँफैले गाली गरेको उनको दाबी छ। प्रहरीले आफ्ना आफन्तको घरमा छापा मारेर दुख दिएको समेत उनले बताएका छन्।
यादवले भिडिओमा नागरिकतालगायतका विषयमा मधेशीलाई विदेशी बनाउने चलखेल भएको भन्दै विगतको आन्दोलनको समेत प्रसङ्ग उल्लेख गरेका छन्।
‘नेपालमा मधेशीमाथि दमन र शोषण हुँदै आएको छ। यी नश्लवादी, खसवादीहरूले आज पनि नेपालमा मधेशीलाई दोस्रो दर्जाको नागरिक भनिरहेका छन्। यो देशबाट मधेश अलग हुनुपर्छ,’ यादवले भनेका छन्, ‘दमन र शोषणले गर्दा आउने दिनमा विद्रोह हुने सम्भावना छ। सिके राउतले हिजो स्वराज मधेशको बिगुल फुकेको थियो। त्यो सही कुरा हो, मधेश आज नभए भोलि अलग हुन्छ। म रहूँ या नरहूँ, मधेशको अर्को पिँढीले यो काम गर्छ।’
यादवविरुद्ध हालसम्म सात वटा आपराधिक मुद्दा दर्ता भइसकेका छन्। हालै सर्लाही जिल्ला प्रहरी प्रमुख एसपी योगेन्द्रकुमार खड्कालाई फोनमार्फत गालीगलौज गरेपछि उनी फेरि विवादमा तानिएका थिए।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी डिएसपी सरोज राईका अनुसार यादवविरुद्ध एक चोरी, ५ अभद्र व्यवहार र एक ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलिसकेको छ।
तत्कालीन चक्रघट्टा गाविस–७ मा जग्गा विवादमा राजनारायण रायको जाहेरीले उनीमाथि ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दा चलेको थियो।
त्यस्तै २०५७ पुस ८ मा नथुनी साहको जाहेरीमा उनीमाथि अभद्र व्यवहारसम्बन्धी मुद्दा चलेको थियो।
मिति २०६६ असोज १० गते जिल्ला शिक्षा कार्यालयका लेखापालको साथबाट एक लाख ५० हजार खोसेको आरोप उनीमाथि थियो। उक्त घटनामा उनीमाथि चोरीसम्बन्धी मुद्दा चलेको प्रहरीले जनाएको छ।
२०७२ पुस ५ गते जिल्ला प्रशासन कार्यालयको नागरिकता तथा राहदानी फाँटमा प्रवेश गरी कम्प्युटर तोडफोड गरी क्षति पुर्याएको आरोप पनि यादवमाथि छ। यो घटनामा उनीमाथि अभद्र मुद्दा चलेको डीएसपी राईले बताएका छन्।
यस्तै २०७३ साउन १३ गते सिँचाइ कार्यालयमा प्रवेश गरी कर्मचारीहरूलाई धाकधम्की दिएको आरोपमासमेत उनीमाथि अभद्र व्यवहार मुद्दा दर्ता भएको प्रहरीको भनाइ छ।
ड्युटीमा खटिएका प्रहरी टोलीमाथि चेकजाँच गर्ने क्रममा गालीगलौज तथा हातपात गरेको आरोपमा २०७३ मंसिर २९ मा उनीमाथि अभद्र व्यवहार मुद्दा चलेको प्रहरीले जनाएको छ।
गत बिहीबार राति एसपी खड्कालाई ‘लुटेरा’ भन्दै गालीगलौज गरेपछि उनलाई पक्राउ गर्न प्रहरीले सक्रियता बढाएको थियो। यसपछि उनी फरार छन्।


