काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओली हेलिकोप्टरबाट रसुवागढी पुगेका छन्। नेपाल–चीन सिमानाको लेन्दे खोला र भोटेकोसी नदीमा आएको बाढीका कारण भएको धनजनको क्षतिको अवस्था बुझ्न त्यसतर्फ गएका हुन्।
प्रधानमन्त्री ओलीका साथमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल पनि छन्।
यसैगरी नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, नेपालका लागि चिनियाँ राजदूत चेन सोङ, नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दीपक थापा, सशस्त्र प्रहरी बलका महानिरिक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभिागका प्रमुख हुतराज थापा पनि बाढी प्रभावित क्षेत्रमा पुगेका छन्।
गए रातिको बाढीका कारण रसुवागढी भन्सारको सुक्खा बन्दरगाह बगाउने गरी लेन्डे खोलामा आएको बाढीमा परी बेपत्ता हुनेको संख्या २० पुगेको छ।
मंगलवार बिहान १८ जना मात्र बेपत्ता भएको भनिएपनि थप दुई जना पनि बेपत्ता भएको जिल्ला प्रशासन कार्यालय रसुवाले जानकारी दिएको हो।
बेपत्तामध्ये नेपाल प्रहरीका ३ जना, सुक्खा बन्दरगाहमा काम गर्ने ६, डिब्बा चालक ५ र चिनियाँ नागरिक ६ जना रहेका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीले जानकारी दिए।
बाढीका कारण ड्यामसाइट बगाउँदा १११ मेघावाट क्षमताको रसुवागढी जलविद्युत् केन्द्रको उत्पादन पूर्ण रूपमा बन्द भएको छ।
यसैगरी, २० मेघावाट क्षमताको चिलिमे जलविद्युत् केन्द्रको तेलरेटरमा बाढीको लेदो पस्दा उत्पादन पूर्ण रूपमा बन्द छ।
यसलाई पुनः सञ्चालनका लागि मर्मत कार्य अगाडि बढाइएको पनि जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
साथै माथिल्लो त्रिशूली ‘ए’को ६० मेघावाट क्षमताको जलविद्युत् केन्द्रको ड्यामसाइटमा पनि क्षति भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
यसैबीच नेपाली सेनाको हेलिकप्टरले नदी किनारका जोखिमयुक्त क्षेत्रबाट ५५ जनालाई सुरक्षित ठाउँमा उद्धार गरेको पनि सहप्रजिअ अधिकारीले बताए।
‘लेन्दे खोलाको मितेरी पुल बताउँदा केरुङसँगको सीधा सम्बन्ध टुटेको छ। १० मिटर चौडाइ र १०० मिटर लम्बाइको रहेको सो पुलमा क्षति भएको प्राविधिकहरूले बताएका छन्। रसुवागढीबाट करिब ८० कोषमाथि छुसुमधो भन्ने चिनियाँ भूभागबाट आएको पहिरोले क्षति बनाएको अनुमान छ,’ उनले भने।


