रसुवागढी- रसुवा जिल्लास्थित नेपाल-चीन सीमानामा रहेको ल्हेन्दे खोलामा यही असार २४ गते आएको बाढीमा ६५ सवारीसाधन बगेको प्रहरीको तथ्यांक छ। बाढीले बगाएकामा व्यवसायीले चीनबाट ल्याएका नयाँ ईभी बढी छन्।
भन्सार जाँचपास गर्न बाँकी गाडीहरु भन्सार परिसरमा राखिएका थिए। एक्कासि ठूलो बाढी आउँदा ती गाडी बग्न पुगे। नबगेका गाडी पनि हिलोमा डुबे। थुप्रै गाडी भन्सार यार्डमा नै अड्किए पनि काम नलाग्ने अवस्थामा पुगे। केही गाडीहरुमा ठूलो क्षति भएको छैन।
बाढीमा हराएकामध्ये ८ वटा ईभी गाडी फेला परेका छन्। उद्धारमा खटिएका सुरक्षाकर्मीका अनासर टिमुरे भन्सार क्षेत्रमा बचेका ईभी गाडीको बिजोग छ।
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा)ले रसुवामा आएको बाढीले अटोमोबाइल आयात प्रणालीमा गहिरो असर परेको जनाएको छ।
अध्यक्ष करण चौधरीले विज्ञप्ति जारी गर्दै अटोमोबाइल आयात प्रणालीमा गहिरो असर पुर्याएको उल्लेख गरेका छन्। ‘भन्सार परिसरमा रहेका निर्माणाधीन सुख्खा बन्दरगाह, पार्किङमा रहेका कन्टेनरहरु समेत बगाएको छ,’ उनले भनेका छन्। बाढीबाट २६० मेगावाट विद्युत उत्पादन बन्द छ। भौतिक क्षतिको विवरण संकलन भइरहेको भएपनि आर्थिक क्षतिको आकलन गर्न अझसम्म पनि सरकारले सकेको छैन।
तस्बिरहरु: प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी


