काठमाडौं–सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा नेपालका स्वतन्त्र रेडियोलाई सम्बोधन नगरेकामा विरोध भएको छ। अर्थमन्त्री डा.प्रकाशशरण महतले प्रस्तुत गरेको बजेटमा स्वतन्त्र रेडियोलाई नसमेटेपछि स्वतन्त्र रेडियो प्रसारकले गम्भीर ध्यानाकर्षण भएको जनाएका हुन्।
सामुदायिक रेडियो प्रसारक संघ अकोराब र ब्रोडकास्टिङ एसोसिएसन अफ नेपाल बानले बजेटमा सम्बोधन गर्नुपर्ने विषयसहित आज सञ्चारमन्त्री रेखा शर्मा र अर्थमन्त्री डा. प्रकाशशरण महतलाई छुट्टाछुट्टै भेटेर ध्यानाकर्षण गराएका छन्।
अकोराबका अध्यक्ष अर्जुन गिरीले बजेटमा सम्बोधन गर्नुपर्ने विषयसहित लिखित रूपमा ध्यानाकर्षण गराइएको र सरकारले स्वतन्त्र रेडियोलाई बेवास्ता गरे आन्दोलन गर्नुको विकल्प नहुने चेतावनी दिइएको बताए।
अकोराबका अध्यक्ष अर्जुन गिरी र बानका अध्यक्ष कुमार भट्टराईले संयुक्त विज्ञप्ति निकालेर आगामी आर्थिक वर्षको बजेटमा रेडियो नवीकरण तथा रोयल्टी शुल्कमा छुट गर्न, नवीकरण, करलगायतमा अन्य संस्थासरह नियमानुसार राजस्व तिरिरहेका स्वतन्त्र रेडियोबाट अव्यावहारिक रूपमा लिइँदै आइएको रोयल्टी मिनाहाका लागि नीतिगत व्यवस्था गरी दोहोरो–तेहेरो कर असुली अन्त्य गर्नुपर्नेलगायत माग राखेका छन्।


