काठमाडौँ- तारकेश्वर नगरपालिका-५ नं. वडा मुड्खुका बैज्यनाथ आचार्य लुतो फाल्ने पर्व लोप हुँदै गएको अवस्थाका साक्षी हुन्।
सनातन हिन्दू धर्मालम्वीहरुले श्रावण संक्रान्तिका दिनमा लुतो फाल्ने गर्छन्। विगतमा साउन १ गते साँझमा तारा देखिएपछि लुतो फाल्ने गरिएपनि अहिले धेरैलाई यो पर्वबारे जानकारी नै नभएको उनी बताउँछन्।
हिन्दू ग्रन्थका अनुसार यस पर्वमा कण्डारक देवताको रूपमा दर्शन ढुङ्गाको ७ वटा शिलामय मूर्तिहरु राखी दीपकलशगणेशको स्थापना गरी लुतो फाल्नुपर्ने बताउँछन् आचार्य। त्यसै गरी मासको बारा, मालपुवा बनाई नैवेद्यका रुपमा चढाउनु पर्ने हो। तर नयाँ पुस्तामा यो पर्व हस्तान्तरण नभएकोप्रति उनको चिन्ता छ।
यस पर्वलाई लुतो फाल्ने समेत भनिने हुँदा यसका विभिन्न विधिविधनहरु समेत रहेको उनी बताउँछन्।
सर्वप्रथम कुकुरडाइनो, धासिंङ्घरे, उन्यु, हाडेउन्यु, पहाडे उन्यु, पानीअमला र यस बेला पाइने फलफूलहरू आरु, नास्पाती, स्याउपाती अनारजस्ता फलफूल फलेका हाँगा सहितका सामग्री जम्मा गर्नुपर्छ। हरियो मकैको घोकासहितको बोट राखी पूजाआजा गरी यी फलफूलहरू आजबाट खान शुरू समेत गरिने परम्परा थियो।
पूजाका लागि देविसरो, पानीसरो, लुट्टेसरो र कुरिलो आवश्यक भए पनि कतिपय सामग्री अचेल पाइँदैनन्।
बर्खामा हिलोमा रोपाइँ गरिने र हिलो धुलोले शरीरमा घाउखटिरा, लुतो जस्ता चिलाउने रोगव्याधि नलागोस् भनेर यो पर्व मनाइने गरिएको हो।
यसमा विशेष गरी सल्लाको दाउराको ७ वटा दियालो बनाउने र ७ दिशा तिर फाल्ने गरिन्छ।
यसरी दियालो फाल्दा नाङ्लो ठटाउने र फालिसकेपछि ढोका थुनेर केही समय घरभित्रै बस्ने गरिन्छ।
आचार्यका अनुसार पहिले पहिले गाउँका हरेक घरमा लुतो फाल्ने पर्व मनाउने गरेको र अहिले भने एकाघरले मात्र फाल्ने गरेका छन्।
तस्बिर : नेपाल फोटो लाइब्रेरी ।


