२०८३ कार्तिक १६ गते आईतबार

बाल्यकालमै बिहे, जीवनभर पीडा

 |  गीता थापा
Sanket

गीता थापा

काठमाडौँ, साउन २३
bal_biwaha_bajura_aama1694705483

सुर्खेत- बराहताल गाउँपालिका–१० फिनिकाँडा सुर्खेतकी २५ वर्षीया कल्पना सुनारको धेरैजसो दैनिकी अस्पतालमै बित्ने गर्छ। अस्पताल धाइरहने उनको समस्या भनेको ढाड दुख्ने, पेट चस्किने हो। उनको स्वास्थ्य समस्याको मुल जड भनेकै कलिलै उमेरको विवाह हो। “सानै उमेरमा विवाह भयो, अहिले त्यसैको सजाय भोग्दैछु”, उनले भनिन्।

कल्पनाले १७ वर्षको उमेरमा प्रेमविवाह गरे। कक्षा ८ मा पढ्दै गर्दा आफ्नै फुपुको छोरासँग उनको माया बस्यो। उनी भन्छन्, “पहिला त उहाँलाई घरमा माग्न बोलाए, आउनु पनि भयो, तर बुवाले छोरीको विवाह गर्ने उमेर भएको छैन भन्दै फिर्ता पठाइदिनुभयो, त्यसपछि हामीले भागेर विवाह ग¥यौं।” उनका अहिले चार वर्षको छोरी र दुई वर्षको छोरा छन्।

विवाहपछि उनको पढ्ने इच्छा अधुरै रह्यो। कल्पनाले भनिन्, “विवाह अघि त पढाइदिन्छु भन्नुहुन्थ्यो, विवाहपछि मलाई पनि घरको जिम्मेवारीले थिच्यो, पढ्ने फुर्सद नै भएन, त्यतिबेला अल्लारे कच्चा दिमाग थियो, भागेर बिहे गरेँ, अहिले उमेर बढ्दै जाँदा थाहा हुँदैछ, कति ठूलो गल्ती भयो।” सानै उमेरमा गरेको विवाहले सजाय भोग्नुपरेको उनी बताउँछिन्।

जुम्लाको सिञ्जा गाउँपालिका–६, झाडागाउँकी बसमा बुढा (रावत) ले पनि तल्लो पेट दुख्ने, ढाड दुख्ने, सेतोपानी बग्ने र पाठेघर खस्ने समस्या झेलिरहेकी छिन्। “पहिला त केही लागेको थिएन, अहिले मात्रै थाहा हुँदैछ, यो सबै बालविवाहकै असर हो”, उनी भन्छिन्, ‘‘त्यो बेला बुझिनँ, अहिले बुझिरहेकी छु, मेरो जीवनमा थपिएको पीडाको जड बालविवाह हो।”

उनले कक्षा ९ पढ्दै गर्दा १६ वर्षको उमेरमा भीमबहादुर रावतसँग प्रेम विवाह गरिन्। उनका जेठा छोरा १० वर्षका छन् भने कान्छा सात वर्षका छन्। उनले भनिन्, “म अझै ठूली भएको पनि थिइनँ, दुई सन्तानकी आमा बनेँ।” विवाहकै कारण उनको पढाइ रोकियो। बालविवाह गरेकै कारण उनले बालअधिकार, शिक्षा र भविष्यका सपना सबै गुमाइन्। उनले स्थानीय वडाबाट दिने बालभत्ता जस्तो सरकारी सुविधाबाटसमेत बञ्चित हुनुपर्‍यो।

माथि उल्लेखित प्रतिनीधिमुलक पात्रका कथा केवल उनीहरुको पीडा होइन्। यो कर्णालीका किशोरीहरूको प्रतिनिधित्व हो। जसको जीवनमा बालविवाहले पीडामाथि पीडा थुपारिएको छ। बालविवाह गरेकाहरुले पीडादायी स्वास्थ्य समस्या झेल्नु त परेकै छ। कयौँले ज्यानसमेत गुमाउनु परिरहेको छ। त्यसैमध्येकी एक वीरेन्द्रनगर–६ की १८ वर्षीया शर्मिला सुनार हुन्। सुत्केरीपछि रक्तश्राव बढी भएका कारण उनले ज्यानै गुमाउनुपर्‍यो।

सुत्केरी व्यथा लागेपछि शर्मिलालाई २०८१ असोज ६ गते प्रदेश अस्पताल पु¥याइएको थियो। बच्चाको गर्भमै मृत्यु भइसकेको थियो। शर्मिलाको शल्यक्रिया गरी बच्चा निकालिएको थियो। अस्पतालले उनका आफन्तलाई ज्वरो र अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको जानकारी दियो। उनका आफन्तले चिकित्सकको लापरवाहीका कारण मृत्यु भएको आरोप लगाएका थिए।

राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा ३७ दशमलव नौ प्रतिशत बालविवाह हुने गरेको छ। नेपालमा पुरुष र महिला दुवैको हकमा विवाह गर्ने उमेर २० वर्ष तोकिएको छ। कर्णालीमा भने १८ वर्ष नपुग्दै विवाह गर्नेको सङ्ख्या ३७ दशमलव नौ प्रतिशत छ।

सरकारी तथ्याङ्कले पनि कर्णालीमा कलिलो उमेरमा आमा हुनेको सङ्ख्यामा कमी आउन नसकेको देखाउँछ। प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयका अनुसार २०७९ यता कर्णालीका अस्पताल तथा घरमा सुत्केरी हुने किशोरी आमा अर्थात् २० वर्षमुनिका १६ हजार ४२ जना छन्। आर्थिक वर्ष २०७९÷८० मा छ हजार ४५७, २०८०÷८१ मा पाँच हजार ५४४ र २०८१÷८२ मा चार हजार ४१ जना २० वर्ष नपुग्दै आमा बनेका छन्।

यो तथ्याङ्कले कलिलै उमेरमा विवाह गर्दा कर्णालीमा आमा र बच्चा दुवैको ज्यान जोखिममा रहेको देखाउँछ। कर्णालीमा पाठेघर ९आङ खस्ने० समस्यासँग जुधिरहेका महिलाको सङ्ख्या सात हजार २६२ छ। प्रदेश अस्पताल सुर्खेतको तथ्याङ्कले २० वर्ष मुनिका किशोरी आमा बन्नेको सङ्ख्यामा कमी आउन सकेको छैन। आव २०७९/८० मा अस्पतालमा सुत्केरी भएका २० वर्ष मुनिका किशोरी आमाको सङ्ख्या ८८७ छ। यस्तै २०८०/८१ मा ८६५ र २०८१/८२ मा ६१५ छ।

bajura1-16569191341683475314.jpg
प्रदेशमा सुत्केरी हुने क्रममा १८ जनाको मृत्यु भएको छ। यो तथ्याङ्क बितेका तीन वर्षको हो। तीमध्ये २० वर्ष मुनिको चार किशोरी हुन्। जुन कलिलै उमेरमा विवाह र त्यसपछि आमा बन्नुको परिणाम हो। शारीरिक र मानसिक रूपमा परिपक्व नभई विवाह गर्दा कर्णालीमा मातृ र शिशु मृत्युमा कमी आउन नसकेको स्त्रीरोग तथा प्रसूति विशेषज्ञ डा ललितजङ्ग शाही बताउँछन्।

उनका अनुसार १९ वर्षभन्दा मुनिका किशोरीमा शारीरिक विकास पूर्ण नहुँदै बच्चा जन्माउँदा मातृ मृत्युदर र नवजात शिशु मृत्युदर दुवै बढ्छ। “कम उमेरमै गर्भवती हुँदा शरीर बच्चा जन्माउन तयार हुँदैन”, डा शाही भन्छन्, “त्यसैले सुत्केरी अवस्थामा अत्यधिक रक्तश्राव, उच्च रक्तचाप, ज्वरोजस्ता जटिलताले आमा र बच्चाको ज्यान जोखिममा पर्छ।”

कम उमेरमा गर्भवती भएका महिलामा एमेनिया (रक्तअल्पता) देखिने सम्भावना धेरै हुन्छ। खानपान र पोषणमा ध्यान नदिँदा रक्तअल्पता हुने गर्छ। कम उमेरकी आमाबाट जन्मिने बच्चामा कुपोषण, कमजोरी र नवजात शिशु मृत्युदर उच्च हुने गरेको छ।

“बालविवाहका कारण शारीरिक मात्र नभई मानसिक समस्यासमेत देखिन्छ”, डा शाही भन्छन्, “कम उमेरमा आमा बनेका किशोरीहरूमा डर, चिन्ता र एक्लोपन बढ्छ, पढाइ बीचमै छाड्नुपर्ने भएकाले स्वास्थ्यबारे जानकारीको कमी रहन्छ र उनीहरू थप जोखिममा पर्छन्।”

नेपालमा सुत्केरी मृत्युको प्रमुख कारण प्रसूतिपछि अत्यधिक रक्तश्राव रहेको डा शाहीले बताए। उनका अनुसार गर्भकालमा ब्लड प्रेसर, सुगर वा थाइराइडजस्ता समस्या पत्ता नलाग्दा वा समयमै उपचार नपाउँदा आमा र बच्चा दुवैको ज्यान जोखिममा पर्छ।

pregnant pasend sutkeri health birami1692186278.jpg
“स्वस्थ महिलामा सुत्केरी अवस्थामा मृत्यु हुने सम्भावना न्यून हुन्छ”, डा शाही भन्छन्, “तर समयमै परीक्षण र तयारी नगर्दा अनाहकमा ज्यान जाने जोखिम रहन्छ।” उनका अनुसार अस्पतालमा २० वर्ष मुनिका गर्भवती किशोरी धेरै आउने गरेका छन्। बच्चा जन्माउन सफल भएका कतिपय किशोरी आमाको पछि पाठेघर खस्ने, अन्य शारीरिक समस्या देखापर्ने गरेको डा शाहीको भनाइ छ।

बाल विवाहविरुद्धको साझा अभियान सञ्जालका अभियान संयोजक चेतन गिरीले कर्णालीमा पछिल्लो समय अभिभावकले भन्दा पनि बालबालिका आफैले विवाह गर्ने क्रम बढेको बताए। बालविवाह हुने धेरैजसो दलित समुदाय रहेको उनको भनाइ छ। कर्णालीमा सबैभन्दा धेरै बादी समुदायमा बालविवाह हुने उनको दाबी छ। “दोस्रोमा क्षेत्री, ब्राह्मण र तेस्रोमा जनजातीमा बालविवाह हुने गरेको देखिन्छ”, उनले भने।

कर्णालीमा ८० प्रतिशत बालविवाहको कारण अभिभावकको घरझगडा नै रहेको गिरीको भनाइ छ। उनी भन्छन्, “बुवाआमा भारतमा रोजगारीका लागि जाने र गाउँमा बालिका एक्लै असुरक्षित हुने हुँदा बालिकाहरुले सानै उमेरमा विवाह गर्ने गरेका देखिन्छ।” बालबालिकामा शिक्षा र चेतनाको कमी, मनोसामाजिक परामर्श नपाउँदा बालविवाह गर्ने निर्णयमा पुग्ने गरेको उनको भनाइ छ।

नेपालको कानुनले बालविवाहलाई जघन्य अपराधका रूपमा परिभाषित गरेको छ। नेपालको संविधानको धारा ३९ मा रहेको बालबालिकाको हकमा बालविवाह गर्न नपाइने व्यवस्था गरेको छ। धारा ३९ को उपधारा ५ मा कुनै पनि बालबालिकालाई बालविवाह, गैरकानुनी ओसारपसार र अपहरण गर्न बन्धक बनाउने कार्यमा दण्ड सजाय हुने व्यवस्था कानुनले गरेको छ।

यस्तै मुलुकी अपराध संहिताको दफा १७३ मा २० वर्ष उमेर नपुगी कसैले विवाह गर्न वा गराउन नहुने उल्लेख छ। कानुन विपरीत भएको विवाह स्वतः बदर हुने अधिवक्ता गीता कोइराला बताउँछिन्।

“बालविवाहको कसुर गर्ने व्यक्तिलाई तीन वर्षसम्म कैद र रु ३० हजारसम्म जरिवानाको व्यवस्था छ, मुलुकी देवानीसंहिता २०७४ ले विवाह गर्ने उमेर २० वर्ष पूरा भएको हुनुपर्ने अन्यथा उमेर नपुगी गरेको विवाह स्वतः बदर र त्यस्तो विवाह अमान्य हुने गरी परिभाषित गरेको छ”, उनले भनिन्, “कर्णालीमा कानूनी दायरामा आएका बालविवाहभन्दा समाजमा लुकेका बालविवाह धेरै रहेका छन्।”

प्रकाशित: २०८२ साउन २३ गते शुक्रबार ०८:३१
प्रतिक्रिया

थप समाचार

शे–फोक्सुन्डोमा ६ भारतीय पर्यटक सम्पर्कविहीन, उद्धारका लागि हेलिकप्टर माग

सुर्खेत । डोल्पाको डोल्पोबुद्ध गाउँपालिकास्थित धोबाट शे–फोक्सुन्डो गाउँपालिका–८ मा रहेको फोक्सुन्डो तालतर्फ फर्किंदै गरेका दुई महिलासहित ६ जना भारतीय पर्यटक अत्यधिक हिमपातका कारण सम्पर्कविहीन...

अनलाइन अपोइन्टमेन्ट लिएपनि राहदानी विभागमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता

काठमाडौं। त्रिपुरेश्वरस्थित राहदानी विभागमा अनलाइनमार्फत अपोइन्टमेन्ट बुक गरेर आएका सेवाग्राहीले समेत घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता भोगिरहेका छन्। अनलाइन प्रणालीमार्फत समय निर्धारण...

सम्भावनाको दोबाटोमा भैरहवाः पुरानो गल्ला व्यापारदेखि औद्योगिकीकरणको मार्गमा

आज भैरहवा इतिहास र सम्भावनाको दोबाटोमा छ। एकातिर पुरानो गल्ला व्यापार, तोरीको तेल, चामल निर्यात र सीमापार कारोबारको विरासत छ भने अर्कोतिर आधुनिक उद्योग, अन्तर्राष्ट्रिय विमानस्थल, स्वास्थ्य...

कोशी प्रदेशका विभिन्न जिल्लामा दुई दिन विद्युत आपूर्ति बन्द हुने

काठमाडौं। नेपाल विद्युत प्राधिकरणले केरौन १३२/३३ केभि सबस्टेसन आयोजनाद्वारा कोशी प्रदेशका विभिन्न जिल्लाहरूमा दुई दिन विद्युत आपूर्ति बन्द हुने भएको जनाएको छ। प्राधिकरणले जारी गरेको सूचना...

पत्रकारहरूमाथि प्रहरीको धरकपड

काठमाडौँ: विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारलाई लिएर प्रहरीले पत्रकार र मिडिया हाउसहरूमाथि धरपकड गरेको छ। शुक्रबार सादा पोशाकमा कार्यालयमै पुगेर प्रहरीले नेपाल प्रेसका पत्रकार विश्वमणि...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना