काठमाडौँ- काठमाडौँ उपत्यकासहित देशका विभिन्न ठाउँमा आइतवार गाईजात्रा पर्व मनाईंदैछ। हरेक वर्ष भदौ कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन परम्परागत सांस्कृतिक पर्व गाईजात्रा विभिन्न कार्यक्रम गरी मनाउने गरिन्छ।
देशका विभिन्न सहरमा गाईजात्रा मनाइने भए पनि काठमाडौँ उपत्यकामा विशेष हुन्छ। यसपालिको गाईजात्रामा विभिन्न काण्डमा संलग्न नेताहरूमाथि तीखो व्यंग्य प्रहार गरिएको छ।
पतञ्जलीका नाममा हदबन्दीभन्दा बढी जग्गा लिएर साट्न दिएको अभियोग लागेका माधवकुमार नेपाल, भिजिट भिसामा सेटिङको आरोप लागेका प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक, सहकारी ठगीको आरोप र अभियोग लागेका नेताहरूमाथि यसपालिको गाइजात्राले विशेष प्रहार गरेको छ।
यस्तै परराष्ट्रमन्त्री आरजू राणलाई आरजू महारानीका रूपमा चित्रित गरिएको छ। पानीजहाज चलाउने भाषण दिएका तर काम नगरेको आरोप लागेका ओलीमाथि पनि व्यंग्य कसिएको छ। नक्कली भूटानी शरणार्थी काण्ड र सुन तस्करीमाथि पनि प्रहार गरिएको छ।
यसपालिको गाईजात्रा नेपालका गतिविधिमा मात्र पनि सीमित छैन। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीमाथि पनि खनिएको छ। यसका साथै इजरायलले गाजामाथि गरेको आक्रमणको पनि विरोध गरिएको छ।
भ्रष्ट गतिविधि गर्नेहरूमाथि गाईजात्राका दिन विभिन्न व्यंग्यवाण गर्ने परम्परा छ।


