काठमाडौँ- ७ वर्षको उमेरमै बेचबिखनमा परेर भारत पुगेकी सुकुमाया लामाले १५ वर्ष संघर्ष गरेपछि नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी छन्। जिल्ला प्रशासन कार्यालय, मकवानपुरबाट शुक्रवार उनले नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेकी हुन्।
हेटाैँडा उपमहानगरपालिका-१० मा जन्मेकी र बुवाआमा दुवै नेपाली नागरिक भएकी सुकुमायाले विदेशीसँग विवाह गरेको कारण नागरिकता लिन संघर्ष गर्नुपरेको थियो। भारतको सर्कसमा बस्दा उनले एक भारतीय पुरुषसँग विवाह गरिन् र सन्तान पनि भयो। तर, श्रीमानको मृत्यु भएसँगै सर्कस पनि बन्द भएपछि उनी नेपाल आएकी थिइन्।
नेपाल फर्किएपछि उनलाई नागरिकता लिन धेरै समस्याहरुसँग जुध्नु पर्यो। ‘बुवाआमा नेपाली भए सन्तान पनि नेपाली हुन्छ’ भन्ने संवैधानिक व्यवस्थाको उपभोग गर्न उनले पाएकी थिइनन्।
२०६९ सालमा महिला, कानुन र विकास मञ्च (एफडब्लुएलडी) मार्फत अदालतमा मुद्दा हालेकी सुकुमायाको संघर्ष झण्डै १३ वर्षसम्म अदालतमै चल्यो। हालै मात्र संवैधानिक इजलास (प्रधानन्यायाधीशसहित ५ न्यायाधीशको इजलास)ले मकवानपुर जिल्ला प्रशासन कार्यालयलाई परमादेश जारी गर्दै उनलाई नागरिकता दिन आदेश गरेको हो। त्यसैको आधारमा शुक्रबार उनले नागरिकता पाएकी हुन्।
सुकुमायाले नागरिकता पाएपछि आफू अत्यन्तै खुसी भएको बताइन्। उनले भनिन्, ‘पहिचानविहीन सुकुमायाबाट अब नागरिक सुकुमाया भएकी छु। यो लामो लडाइँमा साथ दिने एफडब्लुएलडिलाई धन्यवाद दिन चाहन्छु।’
नागरिकता पाएपछि ‘मिठाई’ बोकेर र ‘खादा’ लगाएर खुसीसाथ उपस्थित भएकी उनले अब आफ्ना दुई छोरीहरूको नागरिकता अधिकारका लागि लडाइँ जारी रहने उल्लेख गरिन्।
एफडब्लुएलडीका कार्यकारी निर्देशक अधिवक्ता सविन श्रेष्ठले सुकुमायाले नागरिकता पाएकाेमा खुशी व्यक्त गर्दै भने, ‘१३ वर्षकाे अदालती लडाई पछि पहिचानविहीन सुकुमायाबाट अब नागरिक सुकुमाया बनाउन पाएकाेमा खुशी छाैं, यो घटनाले संविधानले दाबी गरेअनुसार छोरा र छोरीबीचको नागरिकता अधिकारमा देखिने असमानतालाई पुनः उजागर गरेको छ। छोरा विदेशीसँग विवाह गर्दा कुनै समस्या नहुने तर छोरीलाई नागरिकता पाउन दशकौँसम्म संघर्ष गर्नुपर्ने परिस्थितिको यो बलियो उदाहरण बनेको छ।’


