काठमाडौँ- गत आर्थिक वर्ष २०८१/८२ मा काठमाडौँ उपत्यकामा मात्र हराएकाहरूमध्ये ४९० जना नभेटिएको पाइएको छ। काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसार गत आवमा काठमाडौँ उपत्यकाबाट ३ हजार ८०१ जना हराएकोमा ३ हजार ३११ जना मात्र फेला परेका हुन्।
कार्यालयले गत आवको प्रगति विवरण सार्वजनिक गर्दै हराएका व्यक्तिहरूमध्ये ८७ प्रतिशत मात्र फेला पारिएको तर १३ प्रतिशतलाई भेटाउन नसकिएको उल्लेख गरेको छ। उनीहरूको खोजी कार्य जारी रहेको कार्यालयको भनाइ छ।
बालबालिकादेखि वृद्धवृद्धासम्म नै हराउने गरेको प्रहरीको तथ्यांक छ। गत आवमा १२७३ जना महिला हराएकोमा १ हजार ८२ जना फेला परेका छन्।
यस्तै १ हजार १८० जना पुरुष हराएकोमा १ हजार ९ जना फेला परेका छन्। यस्तै ७०९ जना बालिका हराउँदा ६३९ जना मात्र भेटिएका छन्। यस्तै ४६६ जना बालक हराएकोमा ४२१ जना फेला परेका रानीपोखरी कार्यालयले जानकारी दिएको छ।


