काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेर संसदको अपमान गरेको ठहर गरेको छ। संसदीयय मान्यताविपरीत राष्ट्रपतिले गरेको विधेयक प्रमाणीकरणका विषयमा एमालेले विरोध गर्ने निर्णय गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको बैठकले संघीय संसदको निर्णय र सभामुख वा अध्यक्षको सिफारिसमा मात्रै कानुन बन्ने व्यवस्था रहेको उनको भनाइ छ। ‘नयाँ प्रतिनिधिसभा आइसकेपछि पुरानै संसदले पठाएको विधेयक प्रमाणीकरण गर्नु संसदको अपमान भएको छ,’ उनले भने।
मन्त्रिपरिषद्को सिफारिसमा प्रमाणीकरण गरिएको भन्ने राष्ट्रपति कार्यालयको वक्तव्य संविधान, प्रचलित कानुन र संसदीय मान्यताविपरीत भएको उनको भनाइ छ।


