काठमाडौँः जेनजीको प्रदर्शनले उग्र रूप लिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कर्फ्यू आदेश जारी गरेको छ।
प्रशासनले दिउँसो साढे १२ बजेदेखि राति १० बजेसम्म लागू हुनेगरी कर्फ्यू आदेश जारी गरेको हो।
बानेश्वर चोकदेखि पश्चिम एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, बानेश्वर चोकदेखि पूर्व मिन भवन, शान्तिनगर हुँदै तीनकुने चोकसम्म कर्फ्यू आदेश जारी भएको हो।
त्यस्तै बानेश्वर चोकदेखी उत्तर आइप्लेक्स मल हुँदै रत्नराज्य माध्यमिक विद्यालयसम्म, बानेश्वर चोकदेखि दक्षिण शंखमुल ओरालो हुँदै शंखमुल पुलसम्म कर्फ्यू आदेश जारी भएको छ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सोमबार दिउँसो कर्फ्यू जारी गरेको हो।
प्रदर्शनमा केही घुसपेठको भएको भन्दै सुरक्षा निकायले ब्रिफिङ दिएपछि गृहमन्त्रालयले सुरक्षार्थ कर्फ्यूका लागि जिल्ला प्रशासनलाई अनुमति दिएको बताइएको छ।
प्रदर्शन स्थलमा देखिएका केही शंकास्पद गतिविधी र संसद भवनभित्र छिर्न खोज्ने अलग अलग समूहप्रति शंका लागेपछि सुरक्षा निकायले प्रदर्शन स्थलमै केही आन्दोलनकारी तन्नेरीहरुसँग परामर्श पनि गरेको थियो। आन्दोलनकारी युवाहरुले सम्झाउँदा सम्झाउँदै त्यस्ता समूहले संसद भवनभित्र छिर्न खोजेका थिए। निषेधित क्षेत्रमा प्रवेश गरेका समूहलाई भगाउन प्रहरीले लाठी चार्ज र पानीका फोहरा प्रयोग गरेको थियो। सो क्षेत्रमा चहलपहल कम नभएपछि केही राउन्ड हवाइ फायर समेत गरिएको सुरक्षा स्रोतको भनाइ छ।
त्यसको जानकारी सुरक्षाा निकायले उपल्लो तहलाई दिएको थियो।
यसैबीच, जेन जीको प्रदर्शन अशान्तपूर्ण भएपछि तत्कालै सबैलाई फर्किन आह्वान गरिएको छ। जेनजी नेपाल नामको फेसबुक पेजबाट सो आह्वान गरिएको हो।
यसअघि आन्दोलनको बारेमा पोस्ट गर्दै आएको पेजमा लेखिएको सूचनामा भनिएको छ, ‘कृपया तत्कालै सुरक्षित तरिकाले निस्किनुहोला। धेरै स्वार्थ प्रेरित समूहहरुले भिडलाई उत्तेजित बनाइरहेका छन्। चाँडोभन्दा चाँडो त्यहाँबाट हट्नुस् । हाम्रो आजको दिन सफल भइसकेको छ । आज सबै जना सुरक्षित तरिकाले घर जानुस्।’



