सत्य के हो भने राजनीतिज्ञको अस्तित्वको कारण नागरिकको अस्तित्व बनेको होइन, बरु नागरिकको प्राथमिक अस्तित्वका कारण राजनीतिज्ञको अस्तित्व बिकसित भएको हो। तथापि राजनीतिज्ञको जनताप्रतिको बुझाइ/हेराईको लेन्स कहिलेकाँही यति हदसम्मको धमिलो बनिदिन्छ कि उनीहरु जनताको गुम्साई र सम्भावित आन्दोलनलाई नजरअन्दाज गर्न पुग्छन्।जनताको माझबाट राजनीति गर्ने उनीहरु भौतिक सुरक्षा घेरालाई मात्र रक्षा कवच सम्झन पुग्दछन् र नैतिक सुरक्षा घेराको अस्तित्व स्वीकार गर्ने सक्दैनन्। सामान्यतया राजनीतिज्ञका दृष्टिदोषहरुमा जनताभन्दा आफुलाई महत्व दिने स्वार्थदृष्टि, सिद्धान्त बिर्सिएर व्यक्ति रोज्ने पक्षपातदृष्टि, दीर्घकालिक सोच नराखेर तत्काल टार्ने प्रवृति अर्थात अल्पकालीन दृष्टि, ज्ञान र दर्शनभन्दा देखासिकी र सुनेका भरमा चल्ने अज्ञान दृष्टि र आफूलाई ठूलो र अरुलाई सानो देख्ने अहंकार दृष्टि प्रमुख हुन्।
मनुस्मृतिमा राजनीति गर्नेले लोभ, मोह, राग-द्वेष, अहंकार र क्रोधबाट आफूलाई टाढा राख्नुपर्छ भनिएको छ। सोक्रेट, प्लेटो, एरिस्टोटल जस्ता दार्शनिकहरुका बिचार पनि यसै सेरोफेरोमा घुम्दछन। राजनैतिक दर्शनको एक चर्चित शब्दावली छ ‘फ्लिप-फ्लपिंग’ अर्थात अतिलोकरिझ्याईका क्रममा आफ्नो भित्रि बिचार र दर्शनलाई ढुलमुल गरिराख्दा पनि राजनैतिक व्यक्तिहरु नरुचाइने गरेका छन्।
अहिले उठेको जेन-जी उभार फगत खहरेको भेलमात्र थिएन र राजनीतिज्ञको बुझाइजस्तो केटाकेटीको खेलमात्र थिएन। यो त राजनीतिज्ञको अहंकारले सृजना गरेको र राजनैतिक दर्शनलाई एकातिर पन्छाएको दुष्परिणाम थियो। आफु पन्ध्र-बीस बर्षको उमेरदेखि नै राजनीतिमा लागेको भनी गर्वका साथ् सुनाउनेहरुले पछिल्लो त्यही पुस्ताको उपस्थिति, बदलिदो विश्व परिस्थिति, त्यो पुस्ता भित्रको राजनैतिक प्रश्नहरु र ती प्रश्नहरुको उत्तर खोजी गर्ने तीब्र चाहनालाई बुझ्ने कोशिस नै गरिएन। स्वभावत: प्रेसर कुकरको सिठी लाग्न पाएन भने भल्भ पड्किन्छ र त्यसमा पनि ब्लक भयो भने बरु प्रेसर कुकर नै पड्किन सक्छ। भयो त्यस्तै।
हामी नेपालीहरु हर दुख र यस्ता दुर्घटनाहरुलाई सजिलै भुल्ने गर्छौ, चाहे त्यो बहत्तर सालको भुइचालो होस् कि कोभिड महामारी भन्दै यो आन्दोलनलाई हल्का पाराले लिइयो भने त्यो इतिहासकै ठूलो भुल हुनेछ। जेन-जी पछि लगत्तैको अल्फा जेनेरेसनले झनै ठूलो आधिबेहरी ल्याउन सक्नेछ। त्यसैले अहिलेको यो ऐतिहासिक जेन-जी आन्दोलनलाई उच्च महत्व र सम्मानका साथ् लिएर निम्न पांच संदेश ग्रहण गर्नु जरुरी छ।
पहिलो, जनता जनार्दन हुन्।
चाहे त्यो जुनसुकै उमेर समूह वा तप्काका भएता पनि आम जनतालाई कुनै पनि अर्थमा नजरअन्दाज गर्न मिल्दैन। देश र शासनको केन्द्रमा जनता नै रहन्छन र त्यो पनि सर्वोपरी बनेर। जसले शासन गर्यो, उसैले आसन लियो, उसैले मात्र भाषण गर्यो, उसैले लाइन मिचेर राशन लियो गरेकै कारण जनतामा असन्तुष्टि चुलिएको हो, निराशा गुम्सिएको हो। राजनीति गर्नेले अरुलाई सुन्ने र फटाफट काम गर्ने हो, न कि धेरै बोल्ने। यो रितिलाई अब स्थायीरुपले हर क्षेत्रमा स्थापित गर्ने पर्दछ।
दोश्रो, राजनीति गतिशील हुनुपर्दछ।
राजनैतिक दर्शन सधै उत्तिकै प्रभावकारी र प्रभावशाली रहन्छ भन्ने छैन। अरु देशको सन्दर्भमा काम गरेका मार्क्स, लेनिन र माओ वा निकै समय अघि काम गरेको देखिएको बिपी वा पुष्पलालका दर्शनले अव उत्तिकै काम गरिराख्छ भन्ने छैन। अधिकांश राजनैतिक सिद्धान्त बन्दा सबैभन्दा उचो बिकास भनेको रेडियोसम्म थियो। टेलिभिजन, मोबाइल, इन्टरनेट, स्मार्ट फोन र ए आई भन्ने केही पनि थिएन। तसर्थ अवको राजनैतिक सिद्धान्त भनेको ‘मानवबाद’, ‘बिकासबाद’ र अग्रगमन हो। पुंजिबाद लिने मुलुक अमेरिका, साम्यबादकै हवाला दिने चीन, लोकतन्त्रलाई मुलजरो मान्ने थुप्रै मुलुकहरु र सक्रिय राजतन्त्र भएका मध्यपुर्बका देशहरु सबैले उत्तिकै प्रगती गर्नुले राजनैतिक ‘बाद’ हरु फगत राज्य-संचालनका मोडालिटीमात्र हुन् भनी प्रष्ट इंगित गरेको छ।
तेस्रो, जनतालाई सिधै छुने बिषय अधिक महत्वको हुन्छ।
बिहान उठेदेखि आवश्यक दैनिक उपभोग्य सामान, खानेपानी, बिजुली, भान्छा चल्ने सरदाम, शिक्षा र त्यसको शुल्क, स्वास्थ्यसेवा र त्यसको उपलब्धता, गुणस्तर, सेवापक्ष र शुल्क, सार्वजनिक सवारी र त्यसको गुणस्तर र शुल्क, इन्टरनेट जस्ता बिषयले राजनीतिप्रति जनताको बिश्वासको ‘कर्भ’ प्रत्यक्ष तलमाथी पार्छ भन्ने व्यवहारत पनि बुझ्न सकिन्छ भने बैज्ञानिक अनुसन्धानले पनि सोही कुरा पुष्टि गरिरहेका छन् । सफाई, सडक, सार्वजनिक स्थानको खुल्लापन, पार्क, पार्किङ्ग, सार्वजनिक शौचालयको उपलब्धता आदि सिधा जनता जोडिने बिषय हुन्। यातायात सम्बन्धी अन्य सेवा, पासपोर्ट लगायत अन्य सरकारी सेवाले जति जनतालाई सहज बनायो त्यति मन जित्ने हो, जति कठीन बन्न गयो त्यति नै जनताको बिश्वास घटने हो ।
चौथो, नागरिक-राजनीतिज्ञ भौतिक दुरी र मानसिक दुरी प्रत्यक्ष सम्बन्धित छ।
मानौ पांच बर्षमा नै चुनाव भयो भने पनि १८२५ दिनको अवधीमा उमेद्द्वारले
शुरुको ३० दिन र चुनावपछि बिजयर्यालीसम्मको ५ दिन जोड्दा ३५ दिन जतिमात्र नागरिकसंग घुलमिल हुने शैलीले नागरिक-राजनीतिज्ञको मानसिक दुरी पनि बढाउने बुझिन्छ। त्यो भनेको जम्माजम्मी २ प्रतिशतभन्दापनि कम समय हो। नागरिकलाई प्रत्यक्ष भेट्दा कुरा सुन्न, पृष्ठपोषण लिन र आफुले गरेका प्रयाससंगै भएका उपलब्धी सुनाउन पनि पाइन्छ। नागरिकले धेरै प्रश्न गर्दैन वा उपभोक्तालाई आमरुपमा जायज तप्का मानिने सिद्धान्तलाई टेक्ने हो भने पनि जनप्रतिनिधी जनताकोमा पुगिरहने हो, कुरा बुझाउने र बुझिरहने हो।
पाँचौ, राजनैतिक परीवर्तनसंगै नैतिक परीवर्तन जरुरी छ।
नेपालको राजनैतिक फितलोपनका सम्बन्धमा कसको कमजोरी हो त भन्ने बुझ्न-बुझाउन एउटा गानाको यो टुक्काको सहारा लिन सकिन्छ – ‘अलिकति तिम्रो गल्ती भो, अलिकति मेरो गल्ति भो, अलिकति नजर लाग्यो पापी दुनियाको’। राजनैतिक पंक्तिमा मात्र नभएर हाम्रो देशमा नैतिक परीवर्तन सबै तप्का, विधा र क्षेत्रमा नै आवश्यक परेको बुझिन्छ । नैतिकताको खडेरी आम नागरिकमा पनि छ, भन्नुपर्दा विदेश पुगेका नेपालीमा समेत छ। समस्याको कुरामात्र नगरेर समाधानको पनि कुरा गर्ने, अधिकारको भन्दा बढी दायित्वको कुरा गर्ने, उद्यमशीलता र नवप्रवर्तनलाई मनोबल बढाइदिने, कसैले कालोधन र बिचौलियापनमा रमाएको छ भने निरन्तरको सामाजिक बहिष्कार गर्ने, बिदेशमा देखे-बुझेका आइडिया वा राम्रा सम्भावित बिषयहरु सामाजिक संजालमा राखिदिने कुरा हाम्रा सामान्य नैतिक जिम्मेवारी हुन्। अहिलेको जेन-जी आन्दोलनका क्रममा नागरिक तहमा देखिएको अराजकताले ठूलो खाडल खनेको छ, यो पुर्ने र त्यसमा फूल रोप्ने दायित्व पनि अब हाम्रै हो।


