काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले पूर्वमन्त्री मीना पाण्डेको परिवारजनलाई समवेदना सन्देश पठाएका छन्। पाण्डेको ७२ वर्षीया उमेरमा जेठ १३ गते निधन भएपछि उनको परिवारलाई राष्ट्रपति पौडेलले समवेदना सन्देश पठाएका हुन्।
राष्ट्रपति पौडेलले समवेदना सन्देशमा सादा र सरल जीवन शैलीकी धनी पाण्डेका योगदानले हरेक नेपालीलाई प्रेरणा प्रदान गर्ने बताएका छन्। पाण्डेको निधनले लोकतान्त्रिक आन्दोलन र मुलुकलाई अपूरणीय क्षति पुगेको राष्ट्रपति पौडेलले पठाएको समवेदना सन्देशमा उल्लेख छ।
राष्ट्रपति पौडेलले पुरुषलाई समेत आन्दोलनमा होमिन कठिन अवस्थामा पाण्डेले आफूलाई लोकतन्त्रको आन्दोलनमा समाहित गर्नु सबैका लागि गौरवको विषय भएको सन्देशमा उल्लेख गरेका छन्। राष्ट्रपति पौडेलका तर्फबाट प्रेस सल्लाहकार किरण पोखरेल, राष्ट्रपति पौडेलको परिवारको तर्फबाट छोरी अवज्ञा पौडेल र संज्ञा पोखरेलले पाण्डेको निवास गौशालामा पुगेर समवेदना सन्देश हस्तान्तरण गरेका हुन्।
पौडेलले पठाएको सन्देशमा भनिएको छ, ‘विसं २०३६ को जनमत सङ्ग्र्रह घोषणा गराउन बाध्य पार्ने विद्यार्थी आन्दोलनमा पाण्डेले नेतृत्वदायी भूमिका निर्वाह गरेको र सो बेलाको विद्यार्थी आन्दोलनमा पाण्डे पक्राउ परेको मेरो मानसपटलमा अझै ताजै छ।’
बिपी, गणेशमानजस्ता नेताहरूले प्रवासको जीवन भोगेको देखेपछि आफूमा थप विद्रोही भावना पलाएको भनेर बेलाबेलामा आफूहरूलाई सुनाउने गरेको पनि राष्ट्रपति पौडेलले समवेदना सन्देशमा उल्लेख छ।
