काठमाडौं। विद्युत नियमन आयोगले राधी विद्युत कम्पनी लिमिटेडलाई ६९.८९ प्रतिशत हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको छ। नियामक निकायको स्वीकृति पाएकाले अब अन्तिम स्वीकृतिका लागि कम्पनी नेपाल धितोपत्र बोर्डमा जाने भएको छ।
राधीले अब एक अर्ब २८ करोड ५२ लाख रुपैयाँबराबरको हकप्रद सेयर निष्कासन गर्न स्वीकृति पाएको कम्पनीले जनाएको छ। राधीको चुक्ता पुँजी एक अर्ब ८३ करोड ८९ लाख रुपैयाँ छ।
हकप्रदबाट प्राप्त हुने रकम मध्ये ४५ मेगावाट क्षमताको कसुवा जलविद्युत आयोजनामा ५२.४८ प्रतिशत लगानी गर्ने भएको छ। बाँकी १७.४१ प्रतिशत बैंकको ऋण तिर्न खर्च गर्ने योजना कम्पनीको छ।
कसुवा आयोजना र बैंकको ऋण तिर्नका लागि राधी जलविद्युत कम्पनीलाई हकप्रद सेयर निष्कासन गर्न अनुमति दिएको आयोगले जानकारी गराएको छ। आयोजना कसुवा खोला हाइड्रोपावर लिमिटेडले निर्माण गरिरहेको छ। राधीको कसुवा खोलामा अधिकतम ७० प्रतिशत सेयर स्वामित्व रहेको छ।
राधीले हाल ४.४ मेगावाटको राधी साना जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ।
राधीले आईपीओ निष्कासन भइ नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा कारोबार भइरहेको छ।


