सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका– २ मा पर्ने भोटेचौरलाई मिनी इलाम पनि भनिन्छ। भोटेचौरको चिया बगैंचाका वरिपरि पहाडी सुन्दर दृश्यले घेरिएको छ। काठमाडौँबाट नजिकै रहेको मिनी इलाम आन्तरिक पर्यटकहरूको रोजाइमा पर्ने गर्छ।
काठमाडौँबाट करिब दुई घण्टाको दूरीमा अवस्थित सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–२, भोटेचौरस्थित ‘मिनी इलाम’ हालका दिनमा आकर्षक घुम्ने स्थलका रूपमा चर्चामा आएको छ। पूर्वका फिक्कल वा इलाम पुग्न नसक्नेहरूका लागि अब राजधानी नजिकै रहेको यो ठाउँमा चिया बगानको हरियो सौन्दर्य नियाल्न सकिन्छ। ‘एभरेष्ट चिया बगान’ नाममा परिचित यो स्थल सन् १९९५ मा त्रिभुवन विश्वविद्यालयका पूर्वप्राध्यापक सोम गौचनले स्थापना गरेका हुन्।
पहिले ‘ज्यैसी गाउँ’ भनेर चिनिने यो स्थान अहिले ‘ज्योतिष गाउँ’का नामले प्रसिद्ध छ। हरियाली चिया बगान, ग्रामीण परिवेश र वरिपरिको पहाडी दृश्यका कारण यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्दै आएको छ। मिनी इलाम काठमाडौँबाट ३७.६ किलोमिटर टाढा रहेको छ। सार्वजनिक वा निजी सवारी साधन दुवैबाट यहाँ पुग्न सकिन्छ। बौद्ध, साँखु, जहरसिंहपौवा र भोटेचौर हुँदै सहजै पुगिने यो मार्ग पदयात्राका लागि पनि रमाइलो गन्तव्य बनेको छ। सुन्दरीजल हुँदै पैदल यात्रा गर्दा जंगलको हरियाली, कलकल पानी र हिमालको दृश्यले यात्रालाई झन् मनोरम बनाउँछ।
















