प्युठान- प्युठानको झिमरुक गाउँपालिकाका अध्यक्ष पितबहादुर एमसीका छोरा मिलन एमसीले पालिकामा कार्यरत कमर्चारीलाई कार्यालयमै पुगेर हातपात गरेका छन्। आफ्नो कार्यकक्षमा नै कर्मचारी पिटिएको भन्दै पालिकामा कार्यरत कर्मचारीले कर्मचारीले काम छाडेर विरोध गरेका छन्।
अनुचित कामको दबाब दिएर पालिका अध्यक्षकै छोराले कर्मचारीमाथि हातपात गरेकाले पीडकलाई कारबाही नहुँदासम्म काममा फर्कन नसकिने उनले बताएका छन्।
दिउँसोको करिब २:३० बजे समयमा योजना तथा तथ्यांक शाखामामा कार्यरत कर्मचारी दिपक जीसीमाथि हातपात भएको कर्मचारीहरूले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
झिमरुक-३ सात्ले पिपलाका रुख हुँदै पँधेरापात्ता मोटरबाटो निर्माण योजनाको विषयमा पालिका अध्यक्षका छोरा मिलन जीसीले रकम भुक्तानी दिन माग गर्दै आएका थिए। तर बाटोको मापदण्ड नपुगेको र तोकिएको स्थानबाट पनि बाटो नखनिएकाले उक्त योजनालाई भुक्तानी गर्न पालिकाले रोकेर राखेको थियो।
तर मेयर पितबहादुरका छोरा मिलनले पूर्वाग्रहका कारण भुक्तानी नगरिएको आरोप लगाउँदै आएका थिए। भुक्तानीका लागि दबाब दिन बुधबार योजनाका अध्यक्ष रामबहादुर खड्का, सचिव गोपाल खड्का र मिलन एमसीले कर्मचारी दिपक जीसीलाई कुटपिट गरेको आरोप छ।
बुधबारै उक्त विषयलाई प्रमुख प्रशासकीय अधिकृत समक्ष जानकारी गराइएको थियो। सबै शाखामा कार्यरत सबै कर्मचारीहरुलाई विषयवस्तुको सत्यतथ्य बारेमा बुझ्न प्रमुख प्रशासकीय अधिकृतको आफ्नै कार्यकक्षमा छलफलको लागि बोलाएको अवस्थामा उल्टै प्रशासकीय अधिकृतलाई अध्यक्षको छोरा मिलन एमसीले तथानाम गाली गरेको एक कर्मचारीले बताए।
‘म प्रधानमन्त्री भएको पाटीको विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष हुँ भन्दै सुन्नै नसकीने अश्लील तथा अपाच्य शब्द प्रयोग गरी अमर्यादित, अभद्र व्यवहारप्रति गाउँपालिकामा कार्यरत सम्पूर्ण कर्मचारी परिवार घोर भर्त्सना तथा निन्दा गर्दछौं,’ कर्मचारीहरूले जारी गरेको विरोध वक्तव्यमा उल्लेख छ। निन्दनीय र खेदजन्य आपराधिक व्यवहार गर्ने व्यक्तिमाथि छानबिन गरी कारबाही गर्न माग गरेका छन्। अध्यक्षका छोरा मिलन माओवादी निकट विद्यार्थी संगठनको केन्द्रीय उपाध्यक्ष हुन्।
नेपाल निजामती कर्मचारी संगठन जिल्ला कार्य समिति प्यूठानका अध्यक्ष हरि प्रसाद पौडेल नेपाल निजामती कर्मचारी युनियन प्युठानका अध्यक्ष खिमबहादुर अधिकारी र नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामती) का उपाध्यक्ष विकास गुरुङले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको विरोध गरेका छन्।
‘गाउपालिका अध्यक्ष मिलन एमसी(समेत)ले दिपक जीसीलाई अपशब्द, अभद्र व्यवहार तथा हातपातसमेत गरेकोप्रति ध्यानाकर्षण भएको बताएका छन्। ‘कर्मचारीसँग कुनै गुनासो भएमा प्रमुख प्रशासकिय अधिकृत वा गाउँपालिका अध्यक्ष, उपाध्यक्षसग बसी समाधान खोज्नु पर्नेमा गाउँपालिका अध्यक्षकै छोरालगायत निर्माण उपभोक्ता समितिका पदाधिकारीहरुवाट यस्तो कार्य हुनु निकै निन्दनिय मात्रै छैन, अपराधजन्य समेत छ,’ संयुक्त विज्ञप्तिमा उल्लेख छ।
गाउँपालिका उपाध्यक्ष प्रमोद पोखरेलले काम पूरा नभएको फाइलबाट भुक्तानीको दवावमा गलत काम भएको बताउँदै कर्मचारीमाथि जाइलाग्नेमाथि कारबाही हुनुपर्ने विषयमा आफू प्रष्ट भएको बताए।
‘झिमरुक गाउँपालिका वडा नं. ३ का तीन जना युवाहरु रामबहादुर खड्का, मिलन एमसी र गोपाल खड्काले कार्यालयमा काम गरिरहेका कर्मचारी माथि गरिएको दुर्व्यवहार र हातपातप्रति मेरो गम्भीर ध्यान आकर्षण भएको छ,’ उपाध्यक्ष पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।
कर्मचारीको मनोबल गिराउने र योजना अनुगमन प्रभावित पार्ने गरी भएको यो घटनाले सुरक्षा चुनौती बढाएको भन्दै उनले दोषीलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन्।
पालिका अध्यक्ष पितबहादुर एमसीले कार्यकक्षमै यस्तो घटना हुनु राम्रो नभएको भन्दै आफ्नो छोराले त्यो घटनाको नेतृत्व गरेको भन्ने विषय गलत भएको जिकिर गरेका छन्। यस विमयमा पालिकाको कार्यालयमा कर्मचारीहरूसँग छलफलको प्रयास भइरहेको उनले बताए।
कर्मचारी र उपभोक्ता समितिबीच योजनाका विषयमा विवाद भएको भन्ने जानकारी आएको तर कुटपिटको उजुरी भने नआएको जिल्ला प्रहरी कार्यालय प्यूठान जानकारी दिएको छ।


