काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशभर विषको आगो फैलाउन खोजेको तर असफल भएको आरोप लगाएका छन्।
पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पहिचानवादीका नाममा एमालेका सांसद र जनप्रतिनिधिको हत्या प्रयास भएको भन्दै प्रचण्डले पहिचानवादीहरुलाई उक्साएको आरोप लगाएका हुन्।
‘प्रचण्डले सकेन यो विषको आगो फैलाउन। प्रचण्डले खोज्या हो, देशभर विषको आगो फैलाउन खोज्या हो। पहिचानको राजनीतिको नाममा। जातजातको राज्य। जातजातिको नाममा राज्य। यो कोसिस गरेको हो। भड्काउन खोजेको हो। बिथोल्न खोजेको हो,’ उनले भने, ‘प्रचण्ड असफल भए।’
माओवादीले कोशी प्रदेशको नामकरणका लागि भोटिङ गरेको तर पछि फेरि गल्ती भयो भन्दै पुनर्विचार गर्न पुनर्विचार गर्नुपर्छ भनेर भड्काएको आरोप लगाए।
पार्टीका केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सभा सदस्य राम रानामाथि मोबिल छर्केर आगो लगाउने प्रयास भएको र त्यसमा प्रचण्डको प्रत्यक्ष संलग्नता भएको उनको आरोप छ। ‘प्रचण्डहरूको यसमा प्रत्यक्ष संलग्नता छ। पहिले प्रदेशको नाम राख्ने, अलिपछि गल्ती भयो भन्न र पुनिर्विचार गर्नुपर्छ भन्ने,’ उनले भने, ‘यो प्रचण्डपथ भनेको नेपाललाई विनाश गर्ने बाटो हो। यी पहिचानवादी भन्नेहरू प्रचण्डपथका गुण्डा हुन्। किरात राज्य किन मागेका रहेछन् भन्ने देखियो नि। नाम राखेको भए गैरकिरातलाई खेद्ने लक्ष्य रहेछ भन्ने प्रष्ट भयो नि।’
२०७३/७४ तिर मधेशमा पनि पहिचानवादीका नाममा यस्तै ह्रिंसक घटना हुने गरेको उनले सम्झिए। ‘अहिले प्रदेश १ मा पहिचानका नाममा सत्ता संरक्षित आपराधिक घटना भइरहेका छन्। आफैँले आफ्नै मान्छे मारे सुरुमै। हामीमाथि हमला भयो। कहिले बन्द कहिले तोडफोड,’ उनले थपे, ‘राम रानालाई मोबिल छर्केर आगो लगाउन खोजे। भनेपछि कहाँसम्मको हत्या प्रयास भइराख्या छ पहिचनाका नाममा। यस कुरामा हाम्रो पार्टी किञ्चित् डरचाउँदैन। लच्किँदैन। नो कम्प्रमाइज। किराँत प्रदेश राख्न खोजेको किन रहेछ भने हामी देखिँदैछ नि। नराख्दा यस्तो छ। राख्दा कस्तो होला? गैरकिराँत भन्ने त त्यहाँ बस्न पनि नसक्ने हुने रहेछ नि।’ ओलीले प्रचण्डपथ अझै नसकिएको र यो अपराधीपथ भएको समेत आरोप लगाएका थिए।
उता सदनमा भने नेकपा एमालेले भोलिबाट अवरोध गर्ने चेतावानी दिएको छ। कोशी प्रदेशमा पहिचानवादीले एमाले नेता कार्यकर्तामाथि आक्रमण भएको भन्दै एमालेले सदन चल्न नदिने चेतावनी दिएको हो।
‘नेकपा एमालेका नेता कार्यकर्तालाई लक्षित गर्दै, हाम्रो शान्तिपूर्ण कार्यक्रममा ढुंगामुडा गर्ने र आतंकित गर्ने काम सरकारमै रहेका सत्तारुढ पार्टीका कार्यकर्ताबाट भइरहेको छ। हाम्रो पार्टीको अध्यक्षमाथि पनि घटना भएको थियो,’ उनले भने, ‘हामीले संसदमा जानकारी गराएका थियौं। आज पनि कोशी प्रदेशको हाम्रो संसदीय दलको उपनेता राम रानामाथि घेराबन्दी गरेर मोबिल छर्केर आगो लगाउने प्रयास भयो इलाममा। कोशी प्रदेशका सभामुख सिर्जना दनुवारमाथि पनि ढुंगामुढा भएको छ।’ सत्तापक्षकै व्यक्तिहरुको संलग्नतामा आतंक सिर्जना गर्ने काम भइरहेको उनको आरोप छ।


