काठमाडौँ: पूर्वसभामुख कृष्णबहादर महरालाई उच्च अदालत पाटनले २० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको छ। चिनियाँ गिरोहसँग मिलेर सुन तस्करी गरेको आरोपमा गएको असोज २६ गते पक्राउ परेका पूर्वसभामुख महरालाई न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्माको इजलासले प्रमाण बुझ्दै जादा ठहरेबमोजिम हुने हुँदा हाललाई २० लाख रुपैयाँ नगद धरौटी वा सो बराबरको बैंक जमानत लिई पुर्पक्षका लागि थुनामुक्त गरेर तारेखमा राख्न आदेश गरेको हो।
महराविरुद्ध भन्सार चोरी पैठारी तथा संगठित अपराध सम्बन्धी कसूरमा मुद्दा चलाइएको थियो। असोज २९ गते जिल्ला अदालत काठमाडौँका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले भेपमार्फत भएको सुन तस्करी प्रकरणमा उनलाई थुनामा राखेर अनुसन्धान गर्न आदेश जारी गरेको थियो। उक्त आदेश नमिलेको र बेरितको भएको दाबी गर्दै महराले उक्त आदेश बदर गरिपाऊँ भनी उच्च अदालतमा निवेदन दिएका थिए।
बिहीबार उक्त निवेदनमाथि सुनुवाई गर्दै उनलाई थुनामुक्त गर्ने आदेश भएको हो। आदेशमा अभियोगमा नयाँ तथा थप प्रमाण संकलन भई दाबीमा उल्लेख हुन सकेको अवस्था समेत मिसिलवाट नदेखिएको, मूल अभियोग तथा पहिलो पूरक अभियोग दावी समेत उपरमा प्रमाण संकलन भै उक्त प्रमाणहरूको विवेचना भई फैसला समेत भैसकेको, प्रतिवादीले अधिकार प्राप्त अधिकारीसमक्ष तथा अदालत समक्ष गरेको बयान ब्यहोरा समेतका परिप्रेक्ष्यमा तत्काल प्राप्त प्रमाणहरूका आधारमा प्रतिवादीलाई थुनामा नै राखी मुद्दाको पुर्पक्ष गर्नु पर्नेसम्मको अवस्था नदेखिएको कारण उल्लेख गरिएको छ।


