काठमाडौँ: पूर्वसभामुख कृष्णबहादर महराले पुर्पक्षका लागि थुनाबाहिर बस्न २० लाख रूपैयाँ धरौटी बुझाएका छन्। चिनियाँ गिरोहसँग मिलेर भेपमा सुन तस्करी गरेको आरोपमा गएको असोज २६ गते पक्राउ परेका उनलाई काठमाडौँ जिल्ला अदालतले थुनछेक आदेशका क्रममा असोज २९ गते पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो।
उक्त आदेश बेरितको भन्दै महराले उच्च अदालत पाटनमा निवेदन दर्ता गरेका थिए। बिहीबार उच्चका न्यायाधीशद्वय अर्जुनप्रसाद कोइराला र तेजेन्द्रप्रसाद शर्माको इजलासले अभियोगमा नयाँ तथा थप प्रमाण संकलन भई दाबीमा उल्लेख हुन सकेको अवस्था समेत मिसिलवाट नदेखिएको, मूल अभियोग तथा पहिलो पूरक अभियोग दावी समेत उपरमा प्रमाण संकलन भै उक्त प्रमाणहरूको विवेचना भई फैसला समेत भैसकेको, प्रतिवादीले अधिकार प्राप्त अधिकारीसमक्ष तथा अदालत समक्ष गरेको बयान ब्यहोरा समेतका परिप्रेक्ष्यमा तत्काल प्राप्त प्रमाणहरूका आधारमा प्रतिवादीलाई थुनामा नै राखी मुद्दाको पुर्पक्ष गर्नु पर्नेसम्मको अवस्था नदेखिएको भन्दै २० लाख रूपैयाँ धरौटीमा छाड्न आदेश गरेको थियो।
उक्त आदेशपछि महराले अदालतमा २० लाख रूपैयाँ नगद धरौटी जम्मा गरेका छन्। उनलाई अहिले उच्चबाट जिल्ला अदालत काठमाडौँमा ल्याइएको सूचना अधिकारी दीपक श्रेष्ठले नेपालक्लिक्सलाई बताए। काठमाडौँ जिल्ला अदालतको फाँट ३० मा महरा धरौटीमा रहने जानकारी उनले दिए।
धरौटी बुझाएसँगै महरा आजै अदालती पक्रिया पूरा गरेर छुट्दैछन्।


