काठमाडौँ: गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)बीच ऐतिहासिक एकता घोषणा भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज प्रधानमन्त्री सुशीला कार्की र सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलको उपस्थितिमा एनआरएनएको एकतासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो।
११औँ महाधिवेशनबाट निर्वाचित डा बद्री केसी र अध्यक्ष महेश श्रेष्ठबीच बृहत एकताको सम्झौतामा हस्ताक्षर भएको छ। सञ्चारमन्त्री खरेलको विशेष पहल र अग्रसरतामा एनआरएनका दुई समूहबीच एतिहासिक एकता कायम भएको हो। सहमति पत्रमा ११औँं अन्तरराष्ट्रिय महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष बद्री केसी र एकताको महाधिवेशनबाट निर्वाचित कार्यसमितिका अध्यक्ष महेशकुमार श्रेष्ठले हस्ताक्षर गरेका छन्।
एनआरएनए पछिल्लो केही वर्षदेखि केसी र श्रेष्ठको नेतृत्वमा क्रियाशील रहँदै आएकोमा दुवै संस्थाको नेतृत्व दश बुँदे सहमति गर्दै एकताबद्ध भएका हुन्। एकतापछि अबको चार महिनाभित्र १२औँं महाधिवेशन गर्ने सहमति जुटेको छ।
गैरआवासीय नेपाली सङ्घ, अन्तरराष्ट्रिय समिति (एनआरएनए)को एकता घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपाली सङ्घको एकता घोषणा कोशेढुङ्गा सावित हुने बताइन्। उनले गैरआवासीय नेपालीको हित र आवश्यकता बुझेर जहाँ रहे पनि नेपाली हुँ भन्ने भावना देखाएर नेपालको विकास र उन्नतिमा लाग्न आह्वान गरिन्।
प्रधानमन्त्री कार्कीले गैरआवासीय नेपालीले संविधान र कानुनबमोजिम पाउने हक र सुविधामा सरकारले सक्दो वातावरण मिलाउने विश्वास दिलाइन्। ‘विदेश बसेर काम गर्न नेपालीलाई दुःख पनि छ। मेहनतपछि सफलता पाइन्छ। विदेशमा बस्ने नेपालीलाई आफ्नो मुलुक र माटोको माया हुन्छ। तपाईंहरुले आफ्नो माटोका लागि के–कति गर्न सक्नुहुन्छ गर्नुहोस्,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘जेनजी आन्दोलनका क्रममा राष्ट्रिय सम्पदालगायत धेरै क्षति भएको छ। शान्त तलाउमा ढुङ्गा हानिए जस्तो भएको छ। यसको मूल्याङ्कन गर्नुपर्ने भएको छ। मुलुकको हित र विकासका लागि तपाईंहरूको थप सहयोग र सुझावको अपेक्षा गरेका छौँ।’
उनले निर्वाचनमा हार्नेले जित्नेलाई काम गर्न दिनुपर्ने र हार्नेले अर्काेपटक अवसर र जिम्मेवारी पाइएला भन्ने सोचेर राम्रो काम गर्न लाग्नुपर्ने र सङ्घको एकताबाट राजनीतिक दलहरूले पनि सिक्नुपर्नेमा जोड दिइन्।
यसैगरी सञ्चारमन्त्री खरेलले बृहत एकतालाई दिगो बनाउन आग्रह गरे। उनले भने, ‘आज एनआरएनएबीच बृहत एकताको हस्ताक्षर भएको छ। यो हस्ताक्षर कागजमा भएको छ। यो हस्ताक्षर मन र मस्तिस्क दुवैमा कायम रहोस्। व्यवहारिक कार्यान्वयन र दिगो रुपमा एकता अगाडि बढोस्। फुटेर हैन, जुटेरै अगाडि बढ्न सकिन्छ। एकता सम्भव बनाउन भूमिका खेल्ने सबैप्रति धन्यवाद तथा शुभकामना व्यक्त गर्दछु।’
सञ्चारमन्त्री खरेलले एनआरएनएको एकताले ८० लाख गैरआवासीय नेपालीलाई सकारात्मक सन्देश दिएको उल्लेख गरे।
एनआरएनएका अध्यक्ष डा केसीले एनआरएनएबीचको एकताले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सकारात्मक सन्देश दिएको भन्दै नेपालको आर्थिक विकासमा सक्रिय ढङ्गले लाग्ने प्रतिबद्धता जनाए। उनले एनआरएनएलाई अब राजनीतिक कोणबाट कहिल्यै विभाजन नहुनेगरी कानुनी व्यवस्था हुनुपर्नेमा जोड दिए।
अध्यक्ष केसीले भने, ‘हामी चार वर्ष अलमलिएका थियौँ, संस्थाभित्र मतान्तर थियो। तर पनि सोच र कार्यशैलीबाट भिन्न थिएनौँ, यो एकताले संस्थालाई बलियो बनाएको छ। यो एकता भनेको अठोट र विश्वासको हो सम्पूर्ण ८० लाख नेपालीको एकता पनि हो।’
यस्तै अध्यक्ष श्रेष्ठले बृहत एकताको घोषणाले गैरआवासीय नेपालीबीचको भावनात्मक एकता भई समृद्ध नेपाल निर्माणमा सक्रिय भएर जुट्न प्रेरणा मिलेको बताए। उनले भने,’लामो समयको बेइमेल र असमझदारीलाई यस एकताको सम्झौताले चिर्नेछ। एकतालाई दिगो बनाएर, ज्ञान, सीप र पुँजी नेपाल भित्र्याउन मद्दत पुग्नेछ।’


