काठमाडौं। पछिल्लो समय मुलुकको जलविद्युत उत्पादनमा प्रगति भएको छ। निजी क्षेत्रका साथै बैंक तथा वित्तीय संस्थाहरुले जलविद्युतमा लगानी बढाइरहेका छन्।
नेपालको सार्वभौम शाखमा जलविद्युत क्षेत्रको ठूलो योगदान रहको अन्तर्राष्ट्रिय रेटिङ कम्पनी फिच ग्रुपले जनाएको छ।
चालू आर्थिक वर्षको पहिलो त्रयमासमा प्रणालीमा ३०९ मेगावाट बिजुली थप भएको छ। मध्यभोटेकोसीलगायत जलविद्युत आयोजना सम्पन्न हुन गई प्रणालीमा उक्त बिजुली थप भएको हो। योसमेत गरी जडित क्षमता चार हजार मेगावाट नाघेको छ।
सरकारले चालू आर्थिक वर्षमा ९४५ मेगावाट बिजुली थप भई जडित क्षमता ४८ सय मेगावाट पुर्याउने लक्ष्य लिएको छ।
गत आर्थिक वर्षमा प्रणालीमा ४३४ मेगावाट बिजुली थप भएको छ। जसमा ४०९ मेगावाट जलविद्युत र २५ मेगावट सोलार गरी उक्त परिमाणको बिजुली थप भएको थियो।
गत आर्थिक वर्ष २०८१/०८२ मा १७ अर्ब रुपैयाँबराबरको विद्युत भारत र बंगलादेशमा निर्यात भएको छ। यसबीचमा १६ अर्ब नौ करोड रुपैयाँबराबरको बिजुली आयात गरिएको थियो। गत वर्ष प्राधिकरणले २३ अर्ब रुपैयाँबराबरको बिजुली भारतमा निर्यात गर्ने लक्ष्य लिएको थियो।
वैकल्पिक ऊर्जाको स्रोतसमेत गरी विद्युत पहुँच ९९ प्रतिशत पुगेको छ। यसैगरी प्रतिव्यक्ति विद्युत खपत ४०० युनिटबाट बढेर ४७० युनिट पुगेको छ।


