संसारभरका हरेक प्रजातीका कुकुरहरूको पूर्वज ब्वाँसो हो। संसारको सबैभन्दा सानो कुकुर चिहुआहुआ होस् वा अग्लो इंग्लिस मास्तिफ, ब्वाँसोबाट विकसित हुँदै अहिलेको अवस्थामा आएका हुन्।
कुकुरहरूको पूर्वज अब यस संसारमा छैन। कुकुरको सबैभन्दा नजिकको नाता भने खैरो ब्वाँसोसँग जोडिन्छ। जुन अहिले पनि जंगलमा पाइन्छ। ब्वाँसो बलियो र शिकारमा निपूण जंगली जनावर हो। जंगलमा बस्ने र शिकारी स्वभाव भएको ब्वाँसो, मानिस जातिको यति नजिकको सम्बन्ध रहेको कुकुरसम्मको यात्रा कसरी सम्भव भयो? कुकुरलाई मानिसले किन आफ्नै परिवारको सदस्यलाई जसरी माया गर्छन्?
मानवशास्त्रको मान्यताअनुसार कुकुर नै मानिस जातिले घरपालुवा बनाएको पहिलो जंगली जनावर हो। सन् २०१७ मा एक प्राचीन कुकुरको डीएनए परिक्षण गर्दा कुकुर २० देखि ४० हजार वर्ष पहिला युरोपमा जंगली ब्वाँसोबाटै विकसित हुँदै आएको तथ्य पत्ता लाग्यो। कुकुरको सवालमा यसअघिको मान्यता भने केही अलग थियो। दुई फरक स्थानमा रहने ब्वाँसोका फरक प्रजातीबीच सम्पर्क हुँदा जन्मिएको नयाँ स्वरूपको ब्वाँसो नै पछि कुकुर बन्यो। तर अहिलेसम्म कुकुर मानिसको यति घनिष्ठ पाल्तु जनावर कसरी बन्यो भन्ने विषयमा भने निश्चित जवाफ कुनै अध्ययनले दिन सकेको छैन।
उदाहरणको लागि एउटा प्रशिद्ध सिद्धान्तले भन्छ कि मानिस जातिले नै कृषि युगको शुरुआती समयमा ब्वाँसोको बच्चालाई जंगलबाट समातेर ल्याएर घरपालुवा बनाएको हो। र, विस्तारै कम आक्रामक ब्वाँसोहरूलाई छानेर पाल्तु बनाउन थाल्यो। त्यस्तै दोस्रो सिद्धान्तले भन्छ, मानिसले नभएर ब्वाँसोहरू आफैँले नै मानिससँगको घनिष्ठता बढाएका हुन्। यो सिद्धान्तअनुसार केही ब्वाँसाहरू, जो मानिससँग कम डराउँथे, उनीहरू मानववस्तीको छेउछाउ आएर बस्न थाले। मानिसले बढी भएर फालेको खानेकुरा खान थाले। र, विस्तारै मानिसलाई पनि यो लाग्यो कि ब्वाँसोहरू फाइदाजनक छन्। कारण, ती ब्वाँसोहरूले आसपासको खतरा पहिल्यै थाहा पाउँथे र मानिसहरूलाई सतर्क गराउँथे। सँगसँगै बालिनाली नष्ट गर्ने अन्य जंगली जनावरहरूलाई पनि भगाउँथे।
यो सिद्धान्तले जुन ब्वाँसो मानिससँग कम डराउँथे उनीहरू मज्जासँग खान पाउँथे। र, धेरै बच्चा पनि पैदा गर्थे। मानिससँगको संगत बढ्दै जाँदा ब्वाँसोहरूको पछिल्लो पुस्ता पनि मिलनसार र मानिससँग कम डराउने हुँदै गए। र, विस्तारै घरपालुवा नै बने।
अक्सफोर्ड यूनिभर्सिटीका प्रोफेसर तथा जेनेटिसिस्ट ग्रेगर लार्सनका अनुसार मानिस र कुकुर जातिको स्वार्थ मिलेको कारण यिनीहरू नजिकिएका हुन्। र, दुवै जातिलाई एकअर्काको फाइदा हुने भएपछि यस्तो भएको हो। ग्रेगर लार्सन भन्छन्, ‘यदि हामीले ब्वाँसोलाई पाल्तु बनाएका होइनौँ। मानिस जातिको सम्बन्धको विकास यसरी हुँदै हुन्न।’ उनी भन्छन्, ‘यदि त्यसो भन्छौँ भने हामीलाई यो पहिल्यै थाहा थियो र योजनाबद्ध तरिकाले यसो गरिएको हो भन्न सक्नुपर्छ। त्यसैले खासमा ब्वाँसोहरू नै नियमित खानाको लागि मानिस जातिसँग नजिकिएका थिए।’
हजारौँ सालसम्म मानिस जातिले कुकुरलाई छानीछानी मात्रै पाल्दै आए। ब्वाँसोमा त पहिल्यैदेखि शिकारी गुण र झुण्डमा बस्ने शैली त छँदै थियो। सँगै मानिस जातिसँगको लामो संगतले कुकुरलाई परिस्कृत गर्दै लग्यो। कुनैबेला जंगली गुफाको सुरक्षा गर्ने कुकुर अहिले समयमा पर्यटक गाइडदेखि एअरपोर्टमा शंकास्पद सामान सुँघ्ने सम्म काम गर्न थालेका छन्। मानिस जातिको हस्तक्षेपकै कारण अहिले संसारभर अनेक नश्लका कुकुरहरू छन्। मानवशास्त्री जोन ब्रैडशाका अनुसार स्तनधारी जनावहरूमा सबैभन्दा धेरै विविधता कुकुरमै देखिन्छ।
इतिहासमा यस्तो दिन पनि आयो कि कुकुरको काम मानिस जातिको सुरक्षा गर्नु मात्रै रहेन। ऊ परिवारकै सदस्य बन्यो।
सन् २०२०मा बेलायतको न्यू क्यासल यूनिभर्सिटीले घरपालुवा जनावरको चिहानमा बनेको शिलालेखबारे गरेको अध्ययनले १८८१ मा पहिलोटक घरपालुवा जनावरको चिहान बनेपछि जनावरप्रतिको धारणा मानिसमा बदलिएको बताएको छ। अध्ययनअनुसार भिक्टोरियन युगमा चिहानमा आफ्नो घरपालुवा कुकुरलाई साथी भनेर लेखिएको थियो। तर पछि मानिसहरूले आफ्नै परिवारको सदस्यजसरी कुकुरलाई लिन थाले। विशेषगरी दोस्रो विश्व युद्धपछि घरपालुवा जनावरको चिहानमा छोरा, छोरी वा बच्चाको रूपमा बढी लेखिन थाल्यो। २० औँ शताब्दीको बीच मानिसहरूले मरेका घरेलु पाल्तु जनावरहरू पनि मरेपछि परलोक जाने कुरालाई विश्वास गर्ने गरेको अध्ययनको क्रममा पाइएको थियो।
कर्नेल युनिभर्सिटीका अनुसार कुकुरका बच्चाहरू जन्मिएको ८ देखि १२ हप्तासम्म आमा र समूहमा रहनु सबैभन्दा उत्तम हुन्छ। यो उनीहरूको सिक्ने र बुझ्ने सबैभन्दा उत्तम समय हो। यही बीच एरिजोना स्टेट युनिभर्सिटीले सन् २०१८ मा गरेको अध्ययनले कुकुरका बच्चाहरू ८ देखि १२ हप्ताको समयमा सबैभन्दा सुन्दर पनि देखिन्छन्। प्रोफेसर लार्सन भन्छन्, ‘यो समय कुकुरका बच्चाहरू सबैभन्दा सुन्दर देखिन्छन्। र, आमाको हेरचाहमा मात्र बाँच्न सक्छन्। सबैभन्दा क्युट देखिने बेला भएरै मानिसले पनि यही बेलामा कुकुरको बच्चालाई एडप्ट गर्छन्। अर्को एउटा अध्ययनका अनुसार कुकुरले आफ्नो आँखाको वरीपरी एकखालको विशेष मांशपेशी विकसित गर्छ, जसका कारण उसले निकै निर्दोष भावना देखाउन सक्छ। जुन मानिसलाई निकै मन पर्छ।
कुकुरले त्यो मांशपेशीलाई मानिस रिसाएको बेलामा अझैँ बढी प्रयोग गर्छ। र, उसले मानिसलाई त्यसैको बलमा फकाउँछ। धेरै मानिसहरूले कुकुरलाई मायालु जनावरको रूपमा लिन्छन्, जसले मानिसलाई जस्तो अवस्थामा पनि माया गर्छ। र, यसको वैज्ञानिक कारण पनि छ। एमोरी युनिभर्सिटीका न्यूरो साइन्टिस्ट तथा मनोविज्ञानका प्रोफेसर ग्रेगोरी कुकुरको दिमाग राम्रो हुने बताउँछन्। उनीहरूको दिमाग सकारात्मक भावनाहरूसँग जोडिएको हुन्छ। र, उसको दिमाग चिरपरिचित मानिसको गन्ध पाएपछि अझै बढी सक्रिय हुन्छ। जसका कारण मानिसले कुकुरलाई माया गर्छन्।


