काठमाडौँ: नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको ११ औँ महाधिवेशनमा पेस गर्न तयार पारेको महाधिवेशनमा दस्तावेज पार्टीलाई बुझाएका छन्। अध्यक्ष केपी शर्मा कार्यालय नआउने भएपछि महासचिव शंकर पोखरेललाई उनले उक्त प्रतिवेदन बुझाएका हुन्।
पोखरेल दस्ताबेज बोकेर अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न पार्टी मुख्यालय च्यासलमा पुगेका थिए। तर अध्यक्ष ओली उपस्थित भएनन्। अवधारणापत्रमा उनले प्रतिनिधिसभा भंग गरी आगामी फागुन २१ गतेका लागि निर्वाचन गर्ने प्रक्रिया आरम्भ भैसकेको, लामो संक्रमणकाल गुजारेर तत्कालीन संविधानसभाबाट बनाइएको संविधान घाइते भएको, समाजमा अराजकता, अन्योल र राजनीतिक अस्थिरताको वातावरण बनेको यस अवस्थामा नयाँ पुस्ताका आकांक्षाहरू तथा राज्य र पार्टीहरुले लिएका नीतिका बीच खाडल देखिएको उल्लेख गरेका छन्।
विचारधारात्मक रुपले यस्तो घटनाका कार्यकारण सम्बन्धहरुको विश्लेषण गर्नु र नयाँ सन्दर्भमा आफूलाई पुनर्ताजगी गर्नु महाधिवेशनको मुख्य दायित्व भएको उनको भनाइ छ। भदौ २३ गते ‘जेनजी’ हरू मुलुकमा सुशासन, भ्रष्टाचार नियन्त्रण, सामाजिक सञ्जालमाथिको प्रतिबन्ध खारेजी तथा राज्य र पार्टीको नीतिनिर्माण तहमा नयाँ पुस्ताको सहभागिता जस्ता अत्यन्तै सान्दर्भिक माग राखेर आन्दोलनमा उत्रिएको उनले उल्लेख गरेका छन्। ती मागहरु नेपाली राज्य व्यवस्थालाई जनमुखी र जनउत्तरदायी बनाउन उन्मुख रहेको पनि उनले बताएका छन्। ती पार्टीले पनि उठाउँदै आएका सवाल भएको पनि उनको भनाइ छ। तर शान्तिपूर्ण आन्दोलनमा दमन भएको स्वीकार उनले गरेका छन्।
अवधारणापत्रमा उनले भनेका छन्, ‘शान्तिपूर्ण प्रदर्शनका रुपमा सडकमा आएका नवयुवाहरुमाथि भदौ २३ गते अपराह्न पश्चात् एक्कासी दमन भयो। कसरी, कहाँबाट भयो? त्यो खोजी हुने नै छ। उक्त दिनको घटनाबाट आम जनसमुदायमा आक्रोश पैदा हुन पुग्यो।’
प्रकाशित: २०८२ मङ्सिर २२ गते सोमबार ०४:०३