काठमाडौँ: बाराही हस्पिटालिटी ग्रुपले पर्यटकीय नगर पोखरामा पाँचतारे बाराही सेदी होटल निर्माण गरिरहेको छ। निर्माणका क्रममा होटलको लागत ७९.२ प्रतिशत बढेर पाँच अर्ब ५५ करोड ६० लाख रुपैयाँ पुगेको छ। यसअघि होटल परियोजनामा तीन अर्ब १० करोड रुपैयाँ लागत अनुमान गरिएको थियो।
निर्माणका क्रममा होटलको लागत दुई अर्ब ४५ करोड ६० लाख रुपैयाँ बढेको बाराही हस्पिटालिटी ग्रुपले जनाएको छ। होटलको लागत बढेपछि बाराहीले लगानी संरचना परिवर्तन गरेको छ। जसअनुसार ६६ प्रतिशत बैंकको ऋण र बाँकी ३४ प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाएको छ।
यसअघि ७५ प्रतिशत बैंकको ऋण र बाँकी २५ प्रतिशत संस्थापकको स्वपुँजी लगानी गर्ने योजना थियो।
यसअघि कम लागत अनुमान गरिए पनि जग्गाको लागत दोब्बर बढेको, होटलको संरचनात्मक परिवर्तनका साथै छ वटा कोठा थप्ने योजना र एक वर्ष निर्माणमा भएको ढिलाइले होटलको लागत बढ्न गएको बाराही सेदीले जनाएको छ। परियोजनाको वित्तीय प्रगति संशोधित लागतको ५८ प्रतिशत रहेको छ। होटल आगामी वर्ष सम्पन्न गर्ने लक्ष्य भए पनि त्यो सम्भावना कम छ। अहिले होटल निर्माणको स्थिति मध्य चरणमा छ। सबै ब्लकहरूको लागि प्रमुख सिभिल कार्यहरू उन्नत चरणहरूमा छन्।
बढेको लगानी भागको अझै ऋण सम्झौता भएको छैन। त्यस्तै गरी बढेको इक्विटी भागको लागि प्रवर्द्धकहरूले २०२५ को अक्टोबरको मध्यसम्ममा समग्र आवश्यक इक्विटीको ४३ प्रतिशत लगानी गरिसकेका छन्। होटलमा १५६ लक्जरी रुम हुने भएका छन्। जसमध्ये १० वटा एक्जिक्युटिभ स्वीट्स रुम हुने भएको छ।

होटल प्रोपर्टी ७.५ एकडमा फैलिएको छ। यसमा पाहुना आवास भवन, मुख्य लबी, स्वागत, दुई रेस्टुरेन्ट र एक विशेष बार, तीन सम्मेलन हल, दुई बोर्ड कोठा, स्पा, सौना र स्वास्थ्य केन्द्र, क्यासिनो ब्लक, प्रशासनिक ब्लक र मेकानिकल कोठा समावेश हुनेछन्। होटल सम्पत्ति पोखराको सेदी हाइटमा अवस्थित छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल नजिकै सुविधाजनक रूपमा अवस्थित छ। होटलमा आठ व्यक्तिहरूको लगानी रहेको छ। हरिप्रसाद पौडेल र उनका तीन परिवारका सदस्यहरूको ७५ प्रतिशत हिस्सा छ।
प्राथमिक शेयर (आईपीओ) जारी गर्न बाराही सेदी पब्लिक लिमिटेडमा परिणत भएको छ। बाराही सेदीले तीन अर्ब ७४ करोड ३० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ। यसअघि दुई अर्ब ३८ करोड रुपैयाँ थियो। ४० वर्षअघि पोखरामा १० कोठाको प्याराडाइज गेस्ट हाउस सञ्चालन गर्दै स्थापना भएको बाराही ग्रुपले हाल पोखराका साथै चितवन र काठमाडौंमा समेत होटल सञ्चालन गर्दै आएको छ। राजधानीमा बाराही काठमाडौं पाँचतारे होटल सञ्चालनमा छ।
पोखराको लेकसाइडमा बाराही हस्पिटालिटीका संस्थापक हरिप्रसाद पौडेल र बसन्ती पौडेलले १० कोठासहित प्याराडाइज गेस्ट हाउस सुरू गरेका थिए। सोही होटलमा पछि सुविधा थप गरी सन् १९९१ मा होटल बाराही नामकरण गरिएको थियो। बाराही हस्पिटालिटी ग्रुपको चितवनको बाराही जंगल लज, पोखराको होटल बाराही, सराङकोट माउन्टेन लज, आभास पोखरा र बाराही काठमाडौं सञ्चालनमा छन्। पोखरामा व्यञ्जन रेस्टुरेन्ट र द बिच बार एन्ड लज समेत सञ्चालनमा ल्याएको छ।


