पत्रपत्रिका पढेपछि सामान्यतया: हामी त्यसको पुन: प्रयोग गर्दैनौँ। त्यसलाई काम नलाग्ने वस्तुको रूपमा लिइन्छ। पोखराका केही महिलाले भने पत्रपत्रिका उपयोग गरेर पेन्सिल बनाइरहेका छन्। कोइकाको आर्थिक सहयोगमा पोख्रेली सिसा कलम नामको परियोजना अन्तर्गत ‘पेपर पेन्सिल’ परियोजना सञ्चालनमा ल्याइएको हो।
यो कामका लागि सुरुमा पत्रिका संकलन गरिन्छ र आवश्यकता अनुसार काटिन्छ अनि गम लगाएर एक अर्कामा टाँसिन्छ। त्यसपछि लिड राखेर पत्रिकालाई मोडिन्छ। एकै पटक १०-१५ वटासम्म बनाउन सकिन्छ। लिडसहित रोल गरेको पत्रिकालाई सुकाइन्छ र मेसिनमा राखेर कटिङ गरिन्छ। मेसिनबाट निस्किएको पेन्सिल सिधै घाममा सुकाउन मिल्दैन। सुरुमा छायामा सुकाएर मात्र घाममा राखिन्छ। यसरी सजिलैसँग पेपर पेन्सिल तयार हुन्छ।
उद्यमी शान्ति अधिकारीका अनुसार यो पेन्सिल वातावरणमैत्री रहेको छ। यसले गर्दा पोखरा महानगरपालिकामा फोहोर व्यवस्थापनमा टेवा पुगेको छ। महानगरले स्थानीय उत्पादनलाई प्राथामिकता राखी उद्यमीलाई प्रोत्साहन दिने जस्ता योजना बनाउनुपर्छ। युवाहरुलाई स्वदेशमै रोक्न यसले सहयोग पुग्ने उनको भनाइ छ।











तस्बिरहरू: प्रकाशचन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी


