काठमाडौँ: नेकपा एमालेको ११औँ महाधिवेशनबाट तेस्रो कार्यकालका लागि अध्यक्षमा केपी शर्मा ओली निर्वाचित भएका छन्। बुधबार बिहानदेखि बिहीबार बिहानसम्म भएको मतदानबाट ओली बहुमतले विजयी भएका हुन्।
निर्वाचन आयोगका अनुसार ओलीले एक हजार ६६३ मत प्राप्त गरेका छन् भने उनका प्रतिस्पर्धी ईश्वर पोखरेलले ५६४ मत मात्रै मत प्राप्त गरे। ओलीको जित सुनिश्चित भैसके पनि औपचारिक घोषणा हुन भने बाँकी छ।
२०७१ साल असारमा भएको नवौँ महाधिवेशनमा तत्कालीन महासचिव माधवकुमार नेपाललाई झिनो मतले हराएर ओली नेतृत्वमा आएका थिए।
उनी २०७५ सालमा माओवादी केन्द्रसँग भएको पार्टी एकतापछि बनेको नेकपामा पनि निरन्तर अध्यक्ष नै थिए। तर पार्टीमा विग्रह भएपछि सर्वोच्च अदालतबाट २०७७ फागुनमा एमाले र माओवादीबिचको एकता भंग भयो।
त्यसपछि २०७८ मंसिरमा चितवनको सौराहमा भएको १०औँ महाधिवेशनबाट उनी दोस्रोपटक अध्यक्षमा निर्वाचित भएका थिए।


