काठमाडौँ- सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा साविक विजेता मछिन्द्र क्लबले कमब्याक जित निकालेको छ। दशरथ रंगशालामा शनिबार सम्पन्न खेलमा उसले मनाङ मर्स्याङ्दी क्लबविरुद्ध २–१ जित निकालेको हो।
मछिन्द्रलाई जित दिलाउनका लागि फिज ओलावाले आलादिपो र विमल घर्तीमगरले समान १–१ गोल गरेका थिए। खेलमा एक गोलले पछि रहेको अवस्थाबाट यी दुई खेलाडीले दोस्रो हाफको अन्तिम समयमा गोल गरेका थिए।
पहिलो हाफको १६औं मिनेटमा विजय श्रेष्ठले गोल गरेपछि मनाङले एक गोलको अग्रता बनाएको थियो। विमलको पासमा मछिन्द्रका ओलावालेले खेलको ८०औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा फर्काएका थिए। निर्धारित समय सकिनुभन्दा ५ मिनेटअघि ओलावालेकै पासमा विमलले गोल गरे।
आजको खेलसँगै ओलावालेले लिगमा व्यक्तिगत २२ गोल पूरा गरेका छन्। यो लिगमा उनी सर्वाधिक गोलकर्ता हुन्। गोलकर्ताको दोस्रो नम्बरमा रहेका मेसुके ओलुमेउले भने अहिलेसम्म १७ गोल गरेका थिए।
यता विमलले भने लिगमा सातौं गोल अन्तिम खेलमा गरेका छन्। आजको खेलमा जित निकालेपछि लिगको दोस्रो स्थानको मछिन्द्रले ४४ अंक बनाएर लिगको अन्त्य गरेको छ। मछिन्द्र अब नेपालबाट एएफसी कपको छनोटका खेल्नको लागि छानिएको छ।
शीर्षस्थानको चर्च बोइजको एएफसी क्लब लाइसेन्स नभएको कारण दोस्रो स्थानको मछिन्द्रले सो अवसर पाएको हो। त्यस्तै, मनाङ भने ३२ अंकका साथ लिगमा कायम रहेको छ।


