काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारले देश र जनताको हितमा एकपछि अर्को काम गर्न थालेपछि भ्रष्टहरू अत्तालिन थालेको बताएका छन्। शनिबार दिउँसो नुवाकोटको लाँकुरी भञ्ज्याङमा पञ्चकन्या गाउँपालिकाको प्रशासनिक भवनको उद्घाटन गर्दै प्रधानमन्त्रीले वर्तमान सरकारले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेपछि भ्रष्टहरू अत्तालिएको र विरोधका लागि विरोधको राजनीति गरेको आरोप लगाएका हुन्।
‘सिंहदरबारलाई जनताको घरदैलोमा ल्याउन हामीले ठूलो संघर्ष ग¥यौँ। त्यसको बलमा मात्र सिंहदरबार गाउँघरमा आएको हो, यसले स्थानीय क्षेत्रको विकास र जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याएको छ,’ प्रधानमन्त्रीले भने, ‘तर एउटा वर्गलाई यो कुरा मन परेको छैन। यसलाई फेरि फर्काएर सिंहदरबारमा के गरी लैजाने होला भन्नेहरू पनि छन्। सरकारले एकपछि अर्को राम्रो काम गरेपछि भ्रष्ट तत्वहरू अत्तालिएका छन्। राम्रो गर्दै नगर्ने, राम्रो गर्नै नदिने तत्वहरू विरोधका लागि विरोध गरिरहेका छन्, तपाई हामी सचेत हुन जरूरी छ।’
प्रधानमन्त्रीले सरकार भ्रष्टाचारका विरूद्ध कठोर रूपमा प्रस्तुत भएको र भ्रष्टाचारविरोधी अभियानले निरन्तरता पाउने बताए। ‘सरकार भ्रष्टाचारविरूद्ध कठोर रूपमा प्रस्तुत भएको छ। यो कुनै मुद्दामा मात्र होइन, देशमा सुशासन स्थापित गर्न हामी थप दृढताका साथ अघि बढ्छौँ। भ्रष्टाचारविरोधी अभियान निरन्तर अगाडि बढ्छ। सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गर्छौं,’ उनको भनाइ छ।
कार्यक्रममा अर्थमन्त्री डा. प्रकाशशरण महत, नुवाकोटका संघीय सांसद हितबहादुर तामाङ, प्रदेश सभाका सदस्यहरू राधिका तामाङ, रमेश महतलगायतले बोलेका थिए।


