काठमाडौँ: नेपाली सेनाका पूर्वरथी बालानन्द शर्मा मन्त्री बन्ने भएका छन्।
प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद् विस्तार गर्दै शर्मालाई मन्त्री नियुक्त गर्न लागेकी हुन्। उनलाई आज शपथग्रहण गराउने तयारी गरिएको छ। शर्मालाई परराष्ट्र वा रक्षामध्ये एक जिम्मेवारी दिने सम्भावना छ।
को हुन् शर्मा?
पूर्वरथी शर्मा एक समय प्रधानसेनापतिको सबैभन्दा बलियो सम्भाव्य उम्मेदवारसमेत थिए। २०६२/६३ को जनआन्दोलनपछि देश अत्यन्त संवेदनशील मोडमा थियो। राजनीतिक संक्रमण, माओवादी विद्रोहको अन्त्य र शान्ति प्रक्रियाको कार्यान्वयन सबैभन्दा चुनौतीपूर्ण विषय बनेका थिए। आन्दोलनको रापतापमा पुन:स्थापित प्रतिनिधि सभाबाट प्रधानमन्त्रीमा निर्वाचित भएका गिरिजाप्रसाद कोइराला शक्तिशाली थिए। जनआन्दोलनमा भएको व्यापक दमन छानविनका लागि गठित रायमाझी आयोगले तत्कालीन प्रधानसेनापति प्यारजंग थापालगायतलाई कारबाहीको सिफारिस गरेको थियो। सेनापति बन्ने लाइनमा थिए, रथी रुक्मांगद् कटवाल।
तर कटवला दरबार निकट मानिन्थे। त्यसकारण तत्कालीन प्रधानमन्त्री कोइरालाले कटवाललाई कारबाही गरेर विकल्प खोज्न चाहन्थे। त्यसैक्रममा संयुक्त राष्ट्रसंघको फोर्स कमाण्डरका रुपमा सिरियाको गोलान हाइटमा कार्यरत शर्मालाई कोइरालाले प्रधानसेनापतिका लागि प्रस्ताव गरेका थिए। तर आफूभन्दा वरिष्ठ अधिकारी कटवाल भएको बताउँदै उनले आफू सेनापति बन्न नमिल्ने जवाफ फर्काएका थिए।
त्यसपछि उनी सेवानिवृत्त भए। सेवानिवृत्त भएपछि सरकारले शर्मालाई सेना समायोजन विशेष समिति सचिवालयको संयोजकको जिम्मेवारी सुम्पियो। प्रधानमन्त्रीको नेतृत्वमा रहने, प्रमुख दलका शीर्ष नेताहरू सदस्य रहने समितिमा बसेर उनले सबै पक्षलाई स्वीकार्य हुने खाका तयार पार्नुपर्ने थियो। राजनीतिक अविश्वास, संस्थागत डर र द्वन्द्वकालीन घाउबीच सन्तुलन कायम गर्नु सजिलो काम थिएन।
तर, करिब ३० हजार प्रमाणीकृत लडाकूमध्ये सीमित संख्यालाई मात्रै सेनामा समायोजन गर्दै बाँकीलाई पुनःस्थापनामा लैजाने प्रक्रिया अपेक्षाभन्दा सहज रूपमा अघि बढ्यो। धेरैले असम्भव ठानेको काम सम्भव भएको भन्दै त्यसवेला उनको प्रशंसा भएको थियो।
यस्तै २०७८ जेठमा उनलाई तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुख नियुक्त गरेको थियो। निर्देशक समिति मातहत रहेर पूर्वरथी शर्माले सीसीएमसीको नेतृत्व गरेका थिए।


