काठमाडौँ: नेपाली कांग्रेसका नेता तथा जेनजी आन्दोलनताकाका तत्कालिन गृहमन्त्री रमेश लेखक भदौ २३ गते जेनजी आन्दोलनका क्रममा भएको बलप्रयोगलगायत घटना छानबिन गर्न बनेको जाँचबुझ आयोगमा बयान दिन जाँदैछन्। आयोगले गत पुस ८ गते पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि एक साताभित्र उपस्थित हुन पत्र काटेको थियो।
सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्ध तथा भ्रष्टाचारविरुद्ध भएको आन्दोलनका क्रममा तत्कालिन सरकारले गरेको बल प्रयोगका कारण त्यसदिन १९ जनाको गोली लागेर मृत्यु भएको थियो।
उक्त घटनापछि तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकार अपदस्त भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो। अन्तरिम सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको संयोजकत्वमा गठन गरेको आयोगले ९० दिनको म्यादसहित आयोग गठन गरेको थियो। तर उक्त अवधिमा बयान पनि नसकेपछि गत पुस ३ गते आयोगको म्याद एक महिना थप गरिएको छ।
लेखक सोमबार दिउँसो १२ बजे बयानका लागि सिंहदरबारस्थित आयोगको कार्यालयमा उपस्थित हुने उनको सचिवालयले जनाएको छ।


