भरतपुर: नेपाल सरकारका प्रवक्ता एबं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले फागुन २१ मा जसरी पनि निर्वाचन हुने बताएका छन्। भरतपुर विमानस्थलमा आज पत्रकारहरूसँग उनले जसरी पनि राम्रो, निष्पक्ष र धाँधलीरहित ढङ्गबाट निर्वाचन हुने बताएका हुन्।

उनले निर्वाचन हुने महत्त्वपूर्ण आधार भनेको निर्वाचन आयोगको काम भएको बताए। उनले भने ‘आयोगले द्रूत गतिमा काम अघि बढाइहेको छ। पछिल्लो आधार समानुपातिकको बन्द सूचिमा ६४ वटा भन्दा बढी दलहरूले बन्द सूची बुझाइसकेका छन्।’

१० लाख बढी नयाँ मतदाता मतदाता नामावलीमा दर्ता भैसकेको अवस्था रहेको भन्दै उनले सुरक्षा निकायमा नयाँ नेतृत्व आई सकेर प्रहरीको मनोवल उच्च भएको बताए। सरकारले निर्वाचनका लागि जनशक्तिसहित प्रयाप्त वजेट छुट्याई सकेको उनको भनाई थियो।

दलहरू जिल्ला जिल्लामा प्रचारमा लागेको भन्दै उनले भने ‘पार्टीका झण्डा देखेर मतदान दिनुस् भन्न थालिएको छ। प्रत्यक्ष तर्फको उम्मेदवार छनोटमा समेत दलहरू लागि सकेका छन्।’ जनस्तरदेखि मिडियासम्म प्रश्नदेखि जवाफसम्म निर्वाचन केन्द्रित भैरहेकाले निर्वाचन नहुनेमा दुविधा नभएको उनको भनाइ थियो।

पत्रकारहरूको एक प्रश्नमा उनले आफू अहिले नागरिक सरकारको प्रवक्ता भएको भन्दै अहिलेसम्म कुनै पनि पार्टीमा नरहेको स्पष्ट पारे। उनले भने ‘चुनाव लड्ने/ नलड्ने भन्ने कुनै निर्णय मैले गरेको छैन।’ सरकारको प्राथमिकता निर्वाचन गराउने भएको र आफू त्यसमा केन्द्रित भएको बताए। सरकारले दलका कार्यालयहरू गएर भेटेर बोलाएर चुनावको वातावरण बनाइरहेको उनको भनाई थियो।