काठमाडौँ: नेपाली कांग्रेसको १५औँ महाधिवेशन आगामी वैशाख २८–३१ मा गर्ने प्रस्ताव केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट बहुमतले पारित भएको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको प्रस्ताव बहुमतले पारित भएको हो।
बैठकमा कार्यवाहक सभापति खड्काले कार्यविधि थप्दै महाधिवेशन वैशाखमा गर्ने प्रस्ताव गरेका थिए। केहीले फरक मत राखे पनि उक्त प्रस्ताव बहुमतले पारित भएको हो।
पार्टीभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले विशेष महाधिवेशनको तयारी गरिरहँदा केन्द्रीय कार्यसम्पादन बैठकलमा बहुमतले उनीहरूको अडानलाई अस्वीकार गरेको हो। यसअघि ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूले केन्द्रीय कार्यालयमा हस्ताक्षर बुझाएर विशेष महाधिवेशनको माग गरेका थिए।
विशेष महाधिवेशन माग गरेर पत्र बुझाएको ३ महिनाभित्र बोलाउनुपर्ने भए पनि केन्द्रीय कार्यसम्पादन बैठकबाट केन्द्रीय कार्यसमितिको म्याद थप गरिएको हो।
यता महामन्त्री थापाले भने विशेष महाधिवेशनको मुद्दा नटुंगिएको बताएका छन्। उनले अझै १-२ दिन हेर्ने तर पनि विशेष महाधिवेन नबोलाएमा आफूले विधान १७ को २ को पालना आफूले गराउने बताएका छन्। उनले महामन्त्रीको हैसियतले छुट्टै विशेष महाधिवेशन बोलाउने संकेत गरेका हुन्। नेपाली कांग्रेसको विधान १७ (२) मा भनिएको छ, ‘केन्द्रीय कार्यसमितिले आवश्यक ठानेमा वा केन्द्रीय महाधिवेशनका चालीस प्रतिशत सदस्यहरूले केन्द्रीय महाधिवेशनको बैठक बोलाउन विशेष कारण खुलाई केन्द्र समक्ष लिखित अनुरोध गरेमा निवेदन परेको तीन महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाउनुपर्नेछ।’
उनले भने, ‘आज हामी ४-५ जनाले फरक मत लेख्यौँ। तर बहुमतले पारित भयो। अझैँ एक दुई दिन हेर्छौँ । सभापतिले/कार्यवाहकले भोलि नै बैठक राखेर विधानको धाराअनुसार विशेष बोलाउनु भयो भने उत्तम हुन्छ, हैन थप्यौँ सबै घर जाऔं भन्नुभयो भने यो मान्दैनौँ। यस्तो अवस्थामा मैले विधान १७ को २ को पालना मैले गर्छु/गराउँछु,’ बैठकपछि उनले भने।
नियमित महाधिवेशनको मिति तोकिए पनि हुन नसक्ने अवस्था देखिएपछि महामन्त्रीहरूले विशेष महाधिवेशन बाध्यकारी भएको बताउँदै आएका छन्। पुस मसान्तभित्रै विशेष महाधिवेशन हुने उनको भनाइ छ।
शेष महाधिवेशन पक्षधरहरूले भृकुटीमण्डपको हल पुस२७-२८ गतेका लागि बुकिङ समेत गरिसकेका छन्।


