काठमाडौँ: गैरआवासीय नेपाली संघ अमेरिकाले नेपाल सरकारका युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तालाई आमन्त्रण नगरिएको प्रष्ट पारेको छ। संघको राष्ट्रिय समन्वय परिषद्ले एक विज्ञप्ति जारी गर्दै खेलकुदमन्त्री गुप्तालाई आमन्त्रण गरेर एनआरएनए अमेरिकाले कुनै पनि युवासम्बन्धी कार्यक्रम आयोजना नगरिएको प्रस्ट्याएको हो।
एनआरएनए एनसीसी यूएसएको नाम, ईआईएन नम्बर तथा आधिकारिक वेबसाइटको दुरुपयोग गर्दै केही व्यक्ति वा समूहले अनधिकृत कार्यक्रम सञ्चालन गरिरहेको र त्यसमा मानव तस्करीजस्ता गम्भीर गैरकानुनी गतिविधि संलग्न रहेको भन्ने विश्वसनीय जानकारी प्राप्त भएको पनि संघले जानकारी गराएको छ।
संघले एनआरएनए एनसीसी यूएसए संयुक्त राज्य अमेरिकामा कानुनी रूपमा दर्ता भएको आधिकारिक संस्था भएकाले यसको नाम र पहिचान दुरुपयोग हुँदा गम्भीर कानुनी, आर्थिक तथा प्रतिष्ठासम्बन्धी जोखिम उत्पन्न हुने चेतावनीसमेत दिएको छ।
यस्ता गैरकानुनी तथा अनधिकृत गतिविधिसम्बन्धी सम्पूर्ण विवरण संयुक्त राज्य अमेरिकाको होमल्यान्ड सेक्युरिटी तथा नेपालस्थित अमेरिकी दूतावासलाई औपचारिक रूपमा जानकारी गराइने पनि विज्ञप्तिमा उल्लेख छ।
संघले सबै सरोकारवाला निकाय, सञ्चार माध्यम तथा नेपाली समुदायलाई यस्ता अनधिकृत गतिविधिप्रति सचेत रहन र आधिकारिक जानकारीका लागि मात्र संस्थाका मान्य तथा आधिकारिक माध्यमहरूमा भर पर्न आग्रह गरेको छ।



