काठमाडौँ: नेपाली कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष केन्द्रीय महाधिवेशनको उद्घाटन गर्ने भएका छन्। सभापति शेरबहादुर देउवा र कार्यवाहक सभपति पूर्णबहादुर खड्कालाई विशेष महाधिवेशन पक्षधरले निमन्त्रणा पठाएको थियो।
आइतबार बिहानसम्म पनि महाधिवेशन उद्घाटनका लागि देउवा र खड्कालाई बोलाउने प्रयत्न भएको थियो। तर उनीहरू नआउने भएपछि महामन्त्रीद्वयले विशेष महाधिवेशन उद्घाटन गर्ने तयारी गरेको एक नेताले बताए।
केही समयमै विशेष महाधिवेशन कार्यक्रम सुरु हुँदैछ। महाधिवेशनमा सहभागी हुन महाधिवेशन पक्षधर देशभरका प्रतिनिधिहरू काठमाडौँ आइसकेका छन्। सुन्धारा, रत्नपार्क, पुतलीसडक, माइतीघरलगायतका विभिन्न स्थानबाट कार्यकर्ताहरू र्यालीसहित महाधिवेशनस्थल भृकुटीमण्डपमा प्रवेश गरिरहेका छन्।


