काठमाडौँ: नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले समय र पुस्ता बदलिएकाले अब जनताको अपेक्षाअनुसार पार्टीलाई रूपान्तरण गर्नुपर्ने बताएका छन्। काठमाडौँमा जारी विशेष महाधिवेशनमा सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै उनले अब इतिहासको ब्याज खाएर नचल्ने बताए।
उनले नयाँ युवालाई अगाडि सारेर पार्टी चल्ने शैली बदल्नुपर्ने बताए। राणा शासनविरुद्ध लडेको, पञ्चायविरुद्ध लडेको, २०४६ सालको जनआन्दोलनको नेतृत्व गरेको, राजतन्त्र फालेको भनेर अबको राजनीति इतिहासको ब्याज खाएर नचल्ने बताउँदै उनले जनताको आकांक्षा पूरा गर्नेगरी अघि बढ्नुपर्नेमा जोड दिए।
पार्टी र गुटभन्दा माथि उठेर राष्ट्रियता जोगाउन एकजुट हुनुपर्ने बेला आएको उनले बताए।
उनले भने, ‘देश नै रहेन भने कोसँग शासन गर्ने? कांग्रेसले राणा शासन फाल्यो गणतन्त्र ल्यायो तर इतिहासको ब्याज मात्र खाएर अब भविष्य चल्दैन। अहिले पुस्ता बदलिएको छ। जनताको अपेक्षा बदलिएको छ। त्यसैले अब हाम्रो पार्टी चल्ने शैली पनि बदल्नुपर्छ। अब नयाँ युवाहरूलाई अगाडि सार्नुपर्छ। नयाँ युवा र युवतीहरूलाई यो देशको हरेक ठाउँमा ल्याउनुपर्छ। उहाँहरूलाई उठाएर जिताउनु पनि पर्छ।’
त्यस्तै उनले गत भाद्र २३ र २४ गतेको जेनजी आन्दोलनपछि देश जटिल अवस्थामा रहेको भन्दै पार्टी र गुटभन्दा माथि उठेर राष्ट्रियता जोगाउन एकजुट हुनुपर्ने धारणा राखे।
‘म यहाँ कुनै स्वार्थको पोको दिएर आएको छैन। आज म यो ऐतिहासिक मञ्चमा उभिएर देशको अस्तित्वको विषयमा बोल्न आएको हुँ। स्थिति अत्यन्तै जटिल छ। भदौं २३ र २४ गतेको घटनाले के देखाएको छ? अब गुटको कुरा नगरौँ पार्टीभन्दा माथि उठेर राष्ट्रियता जोगाउन हामी एकजुट हुनुपर्छ,’ उनले भने ।
देउवा निकट मानिने श्रेष्ठले विशेष महाधिवेशनको निर्णय कार्यान्वयन हुनुपर्ने पनि भनाइ राखे। पार्टी नेतृत्वले हठ गरेर बस्न नमिल्ने उनको भनाइ थियो। नेतृत्व विधि र विधानअनुसार चल्न नसकेको आरोप लगाउँदै उनले विधि र विधानअनुसार नेतृत्वले विशेष महाधिवेशनले गरेको निर्णयलाई कार्यान्वयन गर्नुपर्ने तर्क उनले गरे।


