काठमाडौँ: नेपाली कांग्रेसको विशेष महाधिवेशनमा आइतबार बेलुका ५ बजेसम्म ४२.९० प्रतिशतले नाम दर्ता गराएका छन्। हालसम्म महाधिवेशनको पक्षमा दुई हजार ३५ जनाले नाम दर्ता गराएका हुन्।
कांग्रेसमा देशभर चार हजार ७४३ महाधिवेशन प्रतिनिधि रहेका छन्। सोमबारसम्म ५० प्रतिशतभन्दा बढीले महाधिवेशनको पक्षमा हस्ताक्षर गर्ने अनुमान गरिएको छ।
बिहान ९ बजेदेखि आठवटा स्टलबाट नाम दर्ता गर्ने प्रक्रिया चलिरहेको छ।
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा समूहले आह्वान गरेको विशेष महाधिवेशन काठमाडौँको भृकुटीमण्डमा जारी छ। विशेष महाधिवेशनमा काठमाडौँका विभिन्न फरक फरक स्थानबाट जुलुस प्रदर्शनसहित नेता कार्यकर्ताहरू सहभागी भएका थिए।
महाधिवेशनका लागि सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई निमन्त्रणा गरिएको थियो। तर देउवासहित उनको समूहका अधिकांशले महाधिवेशन बहिष्कार गरेका छन्। सभापति र कार्यवाहक उपस्थित नभएपछि महामन्त्रीद्वय थापा र शर्माले दीप प्रज्वलनसहित बिरुवामा पानी हालेर विशेष महाधिवेशनको उद्घाटन गरेका थिए।
संस्थापन समूहले बहिष्कार गरे पनि महाधिवेशनमा यसअघि देउवा पक्षका रहेका गोपालमान श्रेष्ठ, विनोद चौधरी, सुनिल शर्मा, पुष्पा भुसाल, उदयशमशेर राणा, डिला संग्रौला, चन्द्र भण्डारी, अर्जुन जोशी, महेश आचार्य, राजेन्द्र कुमार केसी, केदार कार्की, राजन केसी, देवेन्द्रराज कँडेल, अब्जुल सतार, योगेन्द्र चौधरी, भरत शाह, नानु बास्तोला, तारानाथ रानाभाट, ओमकार प्रसाद श्रेष्ठ, डा. सुरेन्द्र चौधरी, चिनकाजी लगायतका नेता पनि उपस्थित भएका छन्।
बन्दसत्र सोमबार बिहान ८ बजेदेखि भृकुटीमण्डपको सभाहलमा हुनेछ।


