काठमाडौँ: नेपाली कांग्रेसको संस्थापन पक्षले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई ५ वर्षका लागि साधारण सदस्य समेत नरहनेगरी कारबाही गरेको छ। बुधबार दिउँसो पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले उनीहरूलाई कारबाही गरेको हो।
कारबाहीपछि देउवा पक्षले कांग्रेसले कुनै विशेष महाधिवेशन नगरेको भन्दै निर्वाचन आयोगमा पत्र पठाएको छ। कांग्रेस विभाजन भएसँगै अब दुई पक्षबिच आधिकारीताका लागि कानुनी लडाइँ हुने भएको छ। आयोगले महाधिवेशन पक्ष वा देउवा पक्षमध्ये कसलाई वैधानिकता दिन्छ त्यसअनुरुप कांग्रेसको विवाद आगामी दिनमा अघि बढ्नेछ।
देउवा पक्षले कारबाही गरेपछि महामन्त्री थापाले आफूहरू नै कांग्रेसको आधिकारीक भएको बताएका छन्। विशेष महाधिवेशन चलिरहेकै अवस्थामा संस्थापन पक्षले कारबाही गरेपछि थापाले विधानसम्मत प्रक्रियामार्फत नयाँ नेतृत्व चयनको चरणमा पुगेको भन्दै आधिकारिकता आफूहरूसँग रहेको स्पष्ट पारे।
अधिवेशनभन्दा माथि कुनै निकाय नरहेको र अधिवेशनमा सहभागी प्रतिनिधिहरू नै केन्द्रीय समिति भएको उनले बताए। ‘विधि र विधानसम्मत कांग्रेसको अधिवेशन भइरहेको छ। हामी नयाँ नेतृत्व चयन गर्ने चरणमा छौँ। अल्मलिने अवस्थै छैन, अधिवेशनमा उपस्थित पक्ष नै आधिकारीक कांग्रेस हो,’ उनले भने।
उनले दलको रुख चिन्ह र चारतारे झण्डा पनि आफूसँगै रहने बताए।


