काठमाडौँ: सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी रवि लामिछानेमाथिको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा फिर्ता लिने निर्णय गरेको छ।
नेपाल सरकारको प्रमुख कानुनी सल्लाहकार रहेको महान्यायाधीवक्ताको कार्यालयले लामिछानेविरुद्ध विभिन्न जिल्लामा चलिरहेका संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिन सम्बन्धित जिल्लाका जिल्ला सरकारी वकिल कार्यालयलाई स्वीकृति प्रदान गरेको हो।
लामिछानेविरुद्ध विभिन्न जिल्लाहरूमा सहकारी ठगीसहित सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा चलिरहेको छ। दुई कसुरमा मुद्दा फिर्ता लिने महान्यायाधीवक्ताको कार्यालयको निर्णयसँगै जिल्ला सरकारी वकिल कार्यालयहरूले संगठित अपराध र सम्पत्ति शुद्धिकरणको अभियोग फिर्ता लिनेछन्।
लामिछानेविरुद्धको सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत रहनेछन्।
उनीविरुद्ध काठमाडौँ, चितवन, कास्की, रुपन्देही र पर्सामा सहकारी ठगीसहितका मुद्दा चलिरहेका छन्।


