काठमाडौँ: प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी छन्। आसन्न प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फको उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा आज प्रधानमन्त्रीले निर्वाचन आयोगका पदाधिकारीहरूसँग छलफल गरेकी हुन्।
उक्त छलफलमा निर्वाचन आयोगले आचार संहिता लागू हुने विषयमा सरकारलाई जानकारी गराएको छ। कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारी नेतृत्वको आयोगको टोलीले आयोगका तर्फबाट आचार संहितबारे विशेष प्रस्तुतीकरण पनि गरिएको थियो। जसअनुसार, निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुनेछ। आयोगको आजै बसेको बैठकले निर्वाचन आचार संहिता आज राति १२ बजेबाट लागू हुने निर्णय गरेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जानकारी दिए।
कार्यक्रममा प्रधानमन्त्री सुशीला कार्कीका अलावा मन्त्रिपरिषद्का सदस्यहरु, नेपाल सरकारका मुख्य सचिव तथा गृह मन्त्रालयका अधिकारीहरुको पनि उपस्थिति थियो। आगामी फागुन २१ गते हुने निर्वाचनका लागि यही माघ ६ गते प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्नुपर्ने कार्यतालिका रहेको छ।







