काठमाडौँ: नेपाल वायुसेवा निगमको रिक्त महाप्रबन्धक पदमा खुला प्रतिस्पर्धात्मक प्रक्रियाबाट नियुक्तिका लागि आवेदन दिएका उम्मेदवारहरूमध्ये १० जनाको संक्षिप्त सूची सार्वजनिक गरिएको छ।
निगमको महाप्रबन्धक छनोट कार्यविधि–२०६२ बमोजिम गत कात्तिक २७ गते महाप्रबन्धकका लागि सूचना आह्वान गरिएको थियो। आवेदन दिएका १६ जना उम्मेदवारमध्ये न्यूनतम शैक्षिक योग्यता र अनुभव पूरा गरेका १० जनाको नाम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आइतबार साँझ सार्वजनिक गरेको हो।
संक्षिप्त सूचीमा उपेन्द्र बहादुर कार्की, टंकनिधि दाहाल, डा. दीपक प्रसाद बास्तोला, दीपुराज ज्वाराचन, डा. भीबहादुर चन्द, योगराज कँडेल शर्मा, विष्णुबाबु मिश्र, वेद प्रसाद उप्रेती, सञ्जय कुमार सिंह र सन्तुष्ट कुमार बस्नेत रहेका छन्।
सूचीमा परेका उम्मेदवारहरूहरूलाई व्यवसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि माघ १४ गते बिहान ८ बजे बोलाइएको छ।



