काठमाडौँ: आगामी प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पदबाट राजीनामा दिएका छन्। सोमबार उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष आफ्नो राजीनामा बुझाएका हुन्।
राजीनामा पत्रमार्फत खरेलले दलीय राजनीतिमा सक्रिय हुने तयारीका क्रममा सरकारको स्वतन्त्र छविमा असर नपरोस् भन्ने उद्देश्यले पद त्याग गर्ने निर्णय लिएको बताएका छन्। ‘वर्तमान सरकारको स्वतन्त्र पहिचानमा आँच नआओस् भनेर दलीय राजनीतिको मैदानमा प्रवेश गर्नु अघि नै मैले मन्त्री पदबाट अलग हुने निर्णय गरेको हुँ,’ उनले उल्लेख गरेका छन्।
खरेलसँगै कार्की नेतृत्वको सरकारबाट प्रतिनिधिसभा निर्वाचनको तयारीस्वरूप राजीनामा दिने मन्त्रीको संख्या तीन पुगेको छ। यसअघि बब्लु गुप्ता र कुलमान घिसिङले पनि पदबाट राजीनामा दिइसकेका छन्।







