काठमाडौँ: आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मंगलबार देशभर मनोनयन दर्ता भैरहेको छ। बिहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ताको कार्यक्रम बेलुका ५ बजेसम्म चल्नेछ।
निर्वाचनमा चार पूर्वप्रधानमन्त्री होमिँदै छन्। निर्वाचनमा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, बाबुराम भट्टराई, माधवकुमार नेपाल र झलनाथ खनाल चुनाव लड्न लागेका हुन्। नेकपाका संयोजक प्रचण्ड रुकुम पूर्व १ र सहसंयोजक नेपाल रौतहट १ बाट चुनाव लड्दैछन्। यस्तै प्रगतिशील लोकतान्त्रिक पार्टीका संरक्षक गोरखा २ बाट र चुनाव लड्दैछन्। पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली झापा ५ बाट चुनाव लड्दैछन्।
विशेष महाधिवेशनपश्चात् नेपाली कांग्रेसको नेतृत्व गगनकुमार थापाले सम्हालेपछि सर्वोच्च पुगेका पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा भने चुनाव नलड्ने भएका छन्। २०४८ देखि डडेलधुराबाट संसदीय निर्वाचन लड्दै आएका उनको क्षेत्रबाट नैनसिंह महर चुनावमा उत्रदैछन्। यस्तै पूर्वप्रधानमन्त्री झलनाथ खनालले पनि चुनाव नलड्ने घोषणा गरेका छन्।
नेपाली कांग्रेस, नेकपा एमाले र रास्वपा भावी प्रधानमन्त्रीका उम्मेदवार तोकेर निर्वाचनमा उत्रिएको छ भने प्रधानमन्त्रीका तीनै उम्मेदवार तराई–मधेश झरेका छन्। एमालेबाट ओली र रास्वपाबाट बालेन्द्र शाह बालेन भावी प्रधानमन्त्रीका उम्मेदवार छन्। दुवै झापा ५ बाट चुनाव लड्दैछन्। ओली २०४८ देखि यही क्षेत्रबाट चुनाव लड्दै आएकोमा काठमाडौँ महानगरपालिकाका निवर्तमान मेयर बालेनको यो संसदीय निर्वाचनमा डेब्यु हो।
यस्तै २०६४ देखि काठमाडौँ ४ बाट सांसद निर्वाचित हुँदै आएका नेपाली कांग्रेसका सभापति गगनकुमार थापा यसपटक सर्लाही ४ झरेका छन्। २०७९ को निर्वाचनमा पनि उनको नाम यस क्षेत्रबाट सिफारिस भएकोमा अन्तमा उनी काठमाडौँ ४ बाटै उम्मेदवार बनेका थिए। सर्लाही ४ मा थापाविरुद्ध रास्वपाका अमरेशकुमार सिंह चुनाव लड्दैछन्। उनी यस क्षेत्रबाट तीन पटक आम निर्वाचनमा विजयी भएका छन्।


