प्रचण्डको चुनावी इतिहास हेर्दा उनी निरन्तर निर्वाचन क्षेत्र परिवर्तन गर्दै आएका नेताका रूपमा चिनिन्छन्। २०६४ सालको निर्वाचनमा उनले काठमाडौँ १० र रोल्पा २ बाट उम्मेदवारी दिएका थिए। दुवै क्षेत्रबाट निर्वाचित भएपछि उनले काठमाडौँ क्षेत्र नम्बर १० छाडेका थिए। २०७० को दोस्रो संविधान सभा निर्वाचनमा काठमाडौँ १० र सिराहा ५ बाट चुनाव लडेका उनी काठमाडौँ १० बाट पराजित भएका थिए। सिराहमा झिनो मतान्तरले निर्वाचन जितेका थिए।
२०७४ मा चितवन ३ र २०७९ मा गोरखा २ बाट निर्वाचित भएका उनको नयाँ राजनीतिक प्रयोगस्थल बनेको हो रुकुमपूर्व। रुकुमपूर्व यसअघिका चार निर्वाचनमा माओवादीले जितेको क्षेत्र हो।
प्रचण्डले हरेक चुनावमा निर्वाचन क्षेत्र बदलेजसरी नै पार्टीको नाम र गठबन्धन पनि फेर्दै आएका छन्। पहिलो संविधानसभा निर्वाचनमा नेकपा माओवादीको नामबाट चुनाव लडेका उनले निर्वाचनपछि नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्र मसालसँग पार्टी एकीकरण गरेका थिए। त्यसपछि उनको नेतृत्वमा पार्टीको नाम नेकपा (एकीकृत माओवादी) बनेको थियो। दोस्रो संविधानसभा निर्वाचनमा
२०६४ सालमा नेकपा माओवादीबाट निर्वाचन लडेका प्रचण्डले निर्वाचनपछि नारायणकाजी श्रेष्ठ नेतृत्वको नेकपा एकता केन्द्र मसालसँग एकता गरेर नेकपा (एकीकृत माओवादी) गठन गरे। नेकपा एकीकृत माओवादीकै नामबाट उनी २०७० सालको निर्वाचनमा उम्मेदवार बने। २०७४ को प्रतिनिधिसभा निर्वाचनअघि उनले माओवादी विचारधाराका अन्य स–साना दलहरूलाई समाहित गर्दै उनले पार्टीको नाम नेकपा माओवादी केन्द्र राखे। २०७४ मा यही नामबाट निर्वाचन लडेका उनले त्यसपछि नेकपा एमालेसँग पार्टी एकीकरण गरेका थिए।
त्यसपछि करिब तीन वर्ष नेपाल कम्युनिष्ट पार्टीमा रहे। नेकपाको नेतृत्व उनीसहित केपी शर्मा ओलीले गरेका थिए। तर, पहिले ओलीले र त्यसपछि प्रचण्डले सत्ता चलाउनेगरी भएको सहमति कार्यान्वयन नगरी ओलीले सत्ता हस्तान्तरण गर्ने समयमा संसद् विघटन गरिदिएका थिए। त्यसपछि प्रचण्ड संसद् विघटनविरुद्ध माधव नेपाल र झलनाथ खनालसहितका नेतालाई लिएर सडक संघर्ष तथा अदालतमा पुगेका थिए। पछि सर्वोच्चले संसद् विघटनको निर्णयसहित नेकपा पनि खारेज गरिदिएको थियो।
ऋषि कट्टेलले आफ्नो पार्टीको नाम प्रचण्ड र केपी शर्मा ओली नेतृत्वको पार्टीलाई दिएको भन्दै दायर गरेको रिटमा सर्वोच्चले नेकपा विघटन गरिदिएको थियो। त्यसपछि दुवै दल नेकपा एमाले र नेकपा माओवादी केन्द्रको नाममा फर्किएका थिए।
जेनजी आन्दोलनपछि हालै मात्र उनले माधव नेपाल नेतृत्वको नेकपा समाजवादी केन्द्रसहितका दलहरूसँग एकीकरण गरेका छन्, जसको अध्यक्ष पद छाडेर उनी संयोजक बनेका छन्। नेकपाको तारा चुनाव चिह्नबाट उनी यसपटकको निर्वाचन लड्न लागेका हुन्।







