काठमाडौँ: आसन्न प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ १६५ सिटका लागि देशभरबाट तीन हजार ४८६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। मंगलबार बिहान १० बजेदेखि साँझ ४ बजेसम्ममा उक्त संख्यामा मनोनयन दर्ता भएको हो। मनोनयन दर्ता गर्नेमा तीन हजार ८९ जना पुरुष, ३९६ जना महिला र एक जना लैंगिक तथा यौनिक अल्पसङ्ख्यकले मनोनयन दर्ता गरेका छन्।
उक्त उम्मेदवारीमाथि कसैको योग्यता नपुग्ने दाबीसहित आज उजुरी गर्न सकिनेछ। मनोनयन दर्ता गरेका उम्मेदवारहरूको योग्यता र वैधानिकतामाथि बिहान १०:०० बजेदेखि दिउँसो ३:०० बजेसम्म प्रश्न उठाउन सकिनेछ। दिउँसो ३:०० बजेदेखि बिहीबार बेलुका ५:०० बजेसम्ममा त्यसमाथि जाँचबुझ र निर्णय गर्नेछ।
बिहीबार बेलुका उम्मेदवारको नामावली प्रकाशन हुनेछ भने माघ ९ गते उम्मेदवारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशन गर्ने र उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्यतालिका रहेको छ।
निर्वाचनमा ६ जना पूर्वअर्थमन्त्री पनि उत्रिएका छन्। जसमा यसअघि २०७९ मै आगामी दिनमा प्रतिनिधिसभा उम्मेदवार नउठ्ने घोषणा गरेका पूर्वप्रधानमन्त्री तथा अर्थमन्त्री डा बाबुराम भट्टराईसमेतले उम्मेदवारी दिएका छन्। उनी गोरखा २ बाट चुनाव लड्दैछन्। २०६४, २०७० र २०७४ मा यहीँबाट निर्वाचित भएका उनले २०७९ मा उक्त क्षेत्र नेकपा माओवादी केन्द्रका पुष्पकमल दाहाल प्रचण्डलाई छाडेका थिए। भट्टराई प्रगतिशील लोकतान्त्रिक पार्टीबाट उम्मेदवार बनेकोमा उनकाविरुद्ध नेपाली कम्युनिस्ट पार्टीका लेखनाथ पौडेल उमेदवार बनेका छन्।
यस्तै पूर्वअर्थमन्त्री वर्षमान पुन नेकपाबाट रोल्पाबाट चुनाव लड्दैछन्। उनी तेस्रोपटक रोल्पाबाट उम्मेदवार बनेका हुन्। यसअघि २०७४ र ०७९ को निर्वाचनमा विजयी भएका थिए। उक्त क्षेत्रबाट नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द विप्लव पनि चुनाव लड्ने तयारीमा रहेकोमा पछि उनले नलड्ने घोषणा गरेका थिए। रोल्पाबाट पुनसहित नेपाली कांग्रेसका डा सुदनकुमार ओली र नेकपा एमालेका गोकुलप्रसाद घर्तीमागर उम्मेदवार छन्।
पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की नेपाली कांग्रेसबाट सुनसरी ४ का उम्मेदवार बनेका छन्। यस क्षेत्रमा नेकपाबाट मोहमद महफुज अन्सारी, रास्वपाबाट दिपककुमार साह, नेकपा (एमाले) बाट जगदीश कुशियत जनता समाजवादी पार्टी नेपालबाट सविता यादवलगायतलगायत उम्मेदवार छन्।
८ पटक मन्त्री हुँदा तीन पटक अर्थमन्त्रालयको जिम्मेवारी सम्हालेका विष्णुकुमार पौडेल रुपन्देही २ बाट नेकपाका उम्मेदवार बनेका छन्। उनी पाल्पाबाट उठ्ने तय भए पनि पछि रुपन्देही नै फर्किएका हुन्। उक्त क्षेत्रमा पौडेलसहित नेपाली कांग्रेसबाट उद्योगी चुन्न प्रसाद पौडेल, रास्वपाबाट अधिवक्ता सुलभ खरेल, नेपाली कम्युनिष्ट पार्टीबाट सुवास पाण्डे विश्वदीपसहित ३४ जनाले उम्मेदवारी दिएका छन्।
पूर्वअर्थमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टीका नेता जनार्दन शर्मा रुकुम पश्चिमबाट उम्मेदवार बनेका छन्। हालै पुष्पकम नेकपा माओवादीबाट छुट्टिएका उनी रुकुम पश्चिबाट पाँचौँपटक उम्मेदवार बन्न लागेका हुन्। उनी २०६४ यताका हरेक निर्वाचनमा यस क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्। उनीसँग यस क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीका गोपाल शर्मा अनल, राष्ट्रिय जनमोर्चाका सत्यनारायण श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका धनबहादुर बिक, नेकपा एमालेका नन्दराम देवकोटासहित चुनाव लड्दैछन्।
नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाश शरण महत नुवाकोट-१ बाट उम्मेदवार बनेका छन्। यस क्षेत्रबाट नेकपा एमालेका तर्फबाट बद्री मैनालीसहितले मनोनयन दर्ता गरेका छन्।


