काठमाडौँ: गत भदौ २३ र २४ को घटनासम्बन्धी छानबिन गर्न गठित जाँचबुझ आयोगको म्याद दोस्रोपटक थपिएको छ। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले थप २० दिन आयोगको म्याद थप्ने निर्णय गरेको हो।
मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं गृहमन्त्री ओमप्रकाश अर्यालले आयोगको म्याद थप गरिएको बताए।
सरकारले असोज ५ गते जेनजी आन्दोलनमा भएको बलप्रयोग लगायतका घटनाको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो। आयोगको कार्यकाल तीन महिना रहेकोमा पुस ३ गते पहिलोपटक एक महिनाका लागि म्याद थप भएको थियो। तर आयोगले तोकिएको समयभित्र प्रतिवेदन बुझाउन कठिन भएको जानकारी गराएपछि सरकारले म्याद थपको निर्णय गरेको हो।
पछिल्लो पटक थप गरिएको म्याद बिहीबार सकिन लागेकोमा आयोगले १५ देखि २० दिन समय आवश्यक परेको जानकारी सरकारलाई गराएको थियो। दोस्रोपटक म्याद थप गरिए पनि देश चुनावतर्फ गैसकेकाले उक्त अवधिभित्रै आयोगको प्रतिवेदन सार्वजनिक हुनेमा भने अन्योल छ।


