काठमाडौं। आसन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं निर्वाचन क्षेत्र नम्बर ९ बाट प्रत्यक्षतर्फकी उम्मेदवार नानु बास्तोलाले महिला, युवा एवम नयाँ पुस्ताको भूमिका सुदृढ बनाउनुपर्नेमा जोड दिएकी छन्।
बास्तोला सामाजिक कार्य र महिला सशक्तिकरणका मुद्दामा समेत आफ्नो पहिचान बनाएको र चुनावी अभियानमा यही एजेण्डालाई अघि सारेर चुनावी घरदैलोमा रहेको पनि दाबी गरिन्।
मतदाताहरुसँग औपचारिक भेटघाट र कार्यक्रममा व्यस्त उनी आफूलाई केवल उम्मेदवार नभइ सामाजिक, राजनीतिक र विकासका पहलमा सक्रिय प्रतिनिधि भएको बताउँछिन्। पछिल्लो समय कांग्रेसको विशेष महाधिवेशनपछि भएको नेतृत्व र नीति परिवर्तनलाई पनि चुनावी अभियानमा प्राथमिकता बनाइरहेको उनले बताइन््।
उनी भन्छिन्, ‘उम्मेदवारका रुपमा नोमिनेसन सकेलगत्तै भेटघाट बढाएको छु। पार्टीले आगामी निर्वाचनका लागि दीर्घकालीन र अल्पकालीन रूपमा देश विकासका लागि योजना र नीति सार्वजनिक गर्नेछ।’
नेतृ बास्तोलाले जनतासँगको भेटले भरोसा र ऊर्जा पुनःस्थापना गरेको बताइन्। ‘घोषणापत्र चाँडै नै आउनेछ। यो अभियानले जनतासँगको भरोसा र ऊर्जा पुनःस्थापना गरेको छ,’उनले भनिन्।
नेतृ वास्तोलाले आफूलाई केवल महिला उम्मेदवार नभई युवा नेतृत्वको प्रतिनिधित्व गर्ने पात्र भएको दाबी गरिन्। उनले युवालाई मात्र नारामा सीमित नभई नीति निर्माण र निर्णय प्रक्रियामा सामेल गराउनु जरुरी भएको बताइन्।
‘म युवा हुँ, महिला मात्र होइन, नयाँ पुस्ताको आवाज प्रतिनिधित्व गर्न सक्ने उम्मेदवार हुँ। अग्रजलाई सम्मान गर्दै, युवा र महिलाको प्रतिनिधित्व गर्दै संसदमा बलियो एजेण्डा प्रस्तुत गर्ने मेरो लक्ष्य हो,’ उनले भनिन्।
आगामी निर्वाचनपछि नेपाली कांग्रेसको नेतृत्वमा सरकार गठन भए दीर्घकालीन रूपमा र अल्पकालीन रूपमा देश विकासका लागि गर्नुपर्ने पहल, नीति निर्माण र कार्यान्वयनका विशेष काम गर्ने बताइन्।
‘हामीले दीर्घकालीन र अल्पकालीन रूपमा देश विकासका लागि गर्नुपर्ने पहलहरू, कांग्रेसको नेतृत्वमा हुँदा गराउनुपर्ने नीतिहरू र एजेण्डाहरू बनाएका छौं,’ उनले भनिन्।
उनले काठमाडौं क्षेत्र नं.९ को मात्र नभई देश भरिका विकासका मोडेलहरू पक्षमा बलियो ढङ्गले आफू प्रस्तुत रहने बताइन्। उनले युवा पलायन रोक्नुपर्ने र विदेशबाट नेपाल फर्काएर रोजीरोटी सिर्जना गर्न सरकारी नीतिमा सुधार आवश्यक भएकोमा जोड दिइन्।
‘आज विदेश जाने युवाहरू धेरै छन्। उनीहरूलाई फर्काएर यहाँ काम गर्न सक्ने वातावरण बनाउनु पहिलो प्राथमिकता हो। यसका लागि अल्पकालीन र दीर्घकालीन रणनीति मार्फत गर्न सकिन्छ,’ उनले भनिन्।
नेतृ बास्तोलाले स्थानीय विकास, स्वरोजगार, कृषि, उद्यमशीलता, सडक र पूर्वाधार निर्माणमा आफ्नो अभियान केन्द्रित रहेको बताइन्।
‘स्थानीय सरकारसँग मिलेर साना व्यवसाय र स्वरोजगार सिर्जना गर्न पहल गर्नेछु। यही कारणले म यस क्षेत्रमै निरन्तर उपस्थित छु र जनता माझ रहँदै काम गर्नेछु। भोलिका दिनमा पनि यसै प्रतिबद्धतामा रहिरहनेछु,’ उनले स्पष्ट पारेकी छन्।
वाँस्तोलाले आगामी निर्वाचनमा नेपाली कांग्रेसको झण्डा र रुख चिह्नको पक्षमा मतदानको लागि मतदातालाई आग्रह गर्दै, सांसद, महिला र युवाको प्रतिनिधित्वको बलियो नमूना बन्ने प्रतिवद्धता व्यक्त गरिन्।


