काठमाडौँ: नेपालमा पर्वतारोहण र पदयात्राका लागि आउने विदेशी पर्यटकलाई उद्धार र उपचारको नाममा ‘फेक रेस्क्यु’ गरेर संगठित आर्थिक चलखेल भैरहेको खुलेको छ। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले गरेको प्रारम्भिक अध्ययनले ‘फेक रेस्क्यु’मार्फत करोडौं रुपैयाँको शंकास्पद आर्थिक कारोबार भएको भेटिएको हो।
सीआईबीले फेक रेस्क्युमा संलग्न विभिन्न ट्राभल कम्पनीका ६ जना सञ्चालकलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ। पक्राउ पर्नेमा माउन्टेन रेस्क्युका सञ्चालक तथा अध्यक्ष जयराम रिमाल र प्रबन्धक विवेक पाण्डे, नेपाल चार्टर सर्भिसका सञ्चालक तथा अध्यक्ष रविन्द्र अधिकारी र अपरेसन म्यानेजर विवेकराज थपलिया छन्।
सीआईबीका प्रमुख मनोज कुमार केसीका अनुसार पछिल्लो साढे दुई महिनादेखि नक्कली उद्धारसँग जोडिएका वित्तीय गतिविधि पहिचान गर्न छुट्टै युनिट र कार्यदल परिचालन गरिएको छ। उक्त टोलीले नेपाल राष्ट्र बैंकबाट प्राप्त एक हजारभन्दा बढी बैंकिङ कारोबारको विस्तृत विश्लेषण गरेको छ।
अनुसन्धानका क्रममा ‘माउन्टेन रेस्क्यु सर्भिस’ नामक संस्थासँग सम्बन्धित १ हजार २४८ कारोबारमध्ये १७१ वटा लेनदेन शंकास्पद देखिएको सीआईबीले जनाएको छ। यस्तै, ‘नेपाल चाटर्ड सर्भिस’ का ४७१ कारोबारमध्ये ७५ वटा कारोबारमा अनियमितताको संकेत फेला परेको छ।
सीआईबीका अनुसार प्रारम्भिक विश्लेषणमै करिब तीन करोड रुपैयाँ बराबरको रकम शंकास्पद ट्रान्जेक्सनमा देखिएको छ, जसले नक्कली उद्धारलाई संगठित आर्थिक अपराधको रूपमा पुष्टि गर्न सक्ने आधार दिएको छ।
सीआईबी प्रमुख केसीले पर्याप्त समय लगाएर तथ्य र प्रमाण संकलन गरिएको उल्लेख गर्दै कानुनी दायरामा ल्याउन सकिने प्रमाणहरू सुरक्षित गरिरहेको जानकारी दिए। उनका अनुसार नक्कली उद्धारको गतिविधि विगतमा मात्र सीमित नरही हाल पनि निरन्तर भइरहेको पाइएको छ।
सीआईबीले हालसम्म दुई हजारभन्दा बढी उद्धार घटनाको अध्ययन गरिसकेको जनाएको छ। यस किसिमका गैरकानुनी आर्थिक गतिविधिले पर्यटन क्षेत्रको विश्वसनीयतामाथि प्रश्न उठ्ने भएकाले अनुसन्धानलाई अझ व्यापक बनाइने सीआईबीको भनाइ छ।



