काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चितवनको भरतपुर महानगरपालिकाका तत्कालिन वरिष्ठ इन्जिनियर (अधिकृत आठौं तह) भरतकुमार आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले मंगलबार विशेष अदालतमा उनीविरुद्ध आरोपपत्र दायर गरेको हो।
आयोगका अनुसार आचार्यले राष्ट्रसेवक पदमा रहँदा पदीय मर्यादाविपरीत कार्य गरी वैधानिक आम्दानीभन्दा धेरै खर्च तथा लगानी गरेको उजुरीका आधारमा अनुसन्धान गरिएको थियो। अनुसन्धानमा निज तथा उनका एकाघर परिवारका सदस्यहरूको आय–व्यय विश्लेषण गर्दा ठूलो परिमाणमा स्रोत पुष्टि हुन नसक्ने सम्पत्ति देखिएको ठहर आयोगको छ।
आचार्य र उनको परिवारले जाँच अवधिमा पारिश्रमिक, भत्ता, जग्गा बिक्री, घरबहाल, लगानीबाट प्राप्त नाफा, बैंक कर्जा, ब्याज आयलगायत विभिन्न स्रोतबाट कूल ३ करोड ५१ लाख ८ हजार २ सय १० रुपैयाँ १८ पैसा वैधानिक आय आर्जन गरेको देखिएको छ। तर सोही अवधिमा जग्गा खरिद, घर निर्माण, सवारी साधन खरिद, बीमा शुल्क, शैक्षिक खर्च, कर्जा साँवा–ब्याज भुक्तानी, विभिन्न फर्म तथा कम्पनीमा लगानी तथा बैंक मौज्दातसमेत गरी कूल १० करोड २९ लाख ९९ हजार २ सय २६ रुपैयाँ १२ पैसा खर्च तथा लगानी भएको पाइएको आयोगले छ।
यसरी आयभन्दा ६ करोड ७८ लाख ९१ हजार १५ रुपैयाँ ९४ पैसा बढी खर्च भएको देखिँदा उक्त रकम बराबरको सम्पत्ति स्रोत पुष्टि हुन नसक्ने गैरकानुनी सम्पत्ति ठहर गरिएको अख्तियारको निष्कर्ष छ।
आयोगले आचार्यकी श्रमीती लिली सुवेदीलाई पनि प्रतिवादी बनाएको छ। आचार्यले गैरकानुनी रूपमा आर्जन गरेको सम्पत्तिबाट श्रीमती लिली सुवेदीको नाममा खरिद गरिएका सम्पत्तिहरू जफत गर्ने प्रयोजनका लागि उनलाई प्रतिवादी कायम गरेको हो।


